मधेस प्रदेश : प्रदेशसभामै कमिशन चक्कर, साइड इफेक्टमा सदन भित्रै चर्काचर्की


जनकपुरधाम, ३ फागुन । मधेस प्रदेशको प्रदेशसभा सदस्यहरुको तलब पठाउनका लागि खाता खोलाउने विषयलाई लिएर मतान्तर देखिएपछि त्यसको साइड इफेक्ट सदनको बैठकमा समेत परेको छ । प्रदेशसभामा प्रतिनधित्व गर्ने दलहरु बिच कुन बैंकमा खाता खोलाउने विषयमा मतान्तर देखिएपछि त्यसको असर प्रदेशसभा बैठकमा समेत देखिएको छ ।

केही दिन अगाडी मधेस प्रदेशको प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यहरुलाई एभरेष्ट बैंकमा खाता खोलाउनका लागि मोबाइलमै मेसेज गरेको थियो ।

तर बुधबार एकाएक एनएमबी बैंकमा खाता खोलाउन परिपत्र गरिएको थियो । सोही विषयलाई लिएर एनएमबी बैंकका कर्मचारीहरुलाई बोलाइएको थियो ।

एनएमबी बैंकका कर्मचारीहरु सभामुख रामचन्द्र मण्डलसंग यस विषयमा छलफल समेत गरेको एक प्रदेशसभा सदस्यले जानकारी दिए ।
जबकि नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले आफ्नो अनुकुलको बैंकमा खाता खोलाउनु पर्ने माग गरेका थिए । कांग्रेसका प्रदेसभा सदस्यहरुले समेत मेगा बैंकका कर्मचारीहरुलाई छलफलका लागि बोलाएका थिए । तर सभामुख मण्डलले अन्य बैंकका कर्मचारीहरुलाई प्रदेससभा परिसरमा छिर्न नदिन निर्देशन दिएपछि सुरक्षाकर्मीहरुले मेगा बैंकका कर्मचारीहरुलाई सुरक्षाकर्मीले छिर्न दिएनन् । सोही विषयलाई लिएर नेपाली कांग्रेसका प्रदेसभा सदस्यहरुले बैठक अवरुद्ध समेत पारेका थिए ।

कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले हामीले बोलाएको अतिथिलाई प्रवेश किन गर्न नदिएको भन्दै प्रदेससभा बैठक अवरुद्ध पारेका छन् ।

सोही क्रममा सभामुख मण्डलले अराजकता र विजनेश गर्न आउनेलाई मात्रै प्रवेशमा रोक लगाएको स्पष्ट पारेका थिए । उनले सभामुखकै आसनबाटै भने ‘बम लिएर प्रदेशसभा परिसरमा प्रवेश गर्न आउनेलाई के गर्ने ?’

सभामुखको यो वक्तव्यको प्रतिकार गर्दै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य जिवछी यादवले सभामुख जस्तो गरिमामय पदमा बसेकाले यस्तो अमर्यादित वक्तव्य दिनु अशोभनिय रहेको भन्दै उल्टै प्रश्न तेर्साएकी थिइन् ।

यता प्रदेशसभामा खाता खोलाउने विषयलाई लिएर भएको विवादलाई केही प्रदेशसभा सदस्यहरुले कमिशनको चक्कर हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार