भारतीय नम्बरका सवारीबाट जनकपुर भन्सारको राजस्व ४० प्रतिशतले बढ्यो


जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम प्रवेश गर्ने भारतीय नम्बरका सवारीसाधनबाट उठ्ने भन्सार महसुलमा झण्डै ४० प्रतिशतले वृद्धि भएको छ । सीमामा सुरक्षाकर्मीले निगरानी बढाउनुका साथै सवारीसाधनको निकासी दर्ता र दण्ड जरिवानामा कडाइ गरेपछि भन्सार राजस्व बढेको हो ।

जनकपुर भन्सार कार्यालयका अनुसार २०८२ सालको वैशाखदेखि भदौसम्म जटही नाकाबाट जनकपुरधाम प्रवेश गरेका भारतीय नम्बरका सवारीसाधनबाट १ करोड ७३ लाख ७० हजार ३ सय ८६ रुपैयाँ भन्सार महसुल संकलन भएको थियो । चालु २०८३ सालको सोही पाँच महिनाको अवधिमा यो रकम २ करोड ४३ लाख १६ हजार रुपैयाँभन्दा बढी पुगेको छ । गत वर्षको तुलनामा भन्सार महसुल ३९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ ।

जनकपुर भन्सार कार्यालयका सूचना अधिकारी राजकुमार ग्यावाका अनुसार भारतीय नम्बरका सवारीसाधनको अस्थायी प्रवेश र निकासी प्रक्रियामा कडाइ गरिएपछि राजस्व संकलनमा वृद्धि भएको हो । उनका अनुसार सन् २०२६ अगस्टदेखि नेपालबाट भारत फर्किने भारतीय पर्यटकले आफ्नो सवारीसाधनको अनलाइन निकासी दर्ता अनिवार्य गर्नुपर्ने व्यवस्था लागू गरिएको छ ।

निकासी दर्ता नगरी भारत फर्किएमा पुनः नेपाल प्रवेश गर्दा सोही मितिदेखि लागू हुने गरी भन्सार कार्यालयले जरिवाना असुल गर्ने व्यवस्था गरेको छ । यसले पनि भारतीय नम्बरका सवारीधनीलाई निर्धारित प्रक्रिया पूरा गर्न बाध्य बनाएको ग्यावाले बताए ।

भन्सार महसुल ऐन, २०८१ अनुसार नेपालमा अस्थायी रूपमा प्रवेश गर्ने भारतीय नम्बरका मोटरसाइकल तथा स्कुटरका लागि दैनिक २ सय रुपैयाँ र कार, जिप तथा भ्यानका लागि दैनिक ६ सय रुपैयाँ भन्सार महसुल तिर्नुपर्ने व्यवस्था छ । तर, निर्धारित प्रक्रियाअनुसार निकासी दर्ता नगरेमा दुईपाङ्ग्रे सवारीका लागि दैनिक १ हजार २ सय रुपैयाँ र चारपाङ्ग्रे सवारीका लागि दैनिक २ हजार ५ सय रुपैयाँसम्म जरिवानासहितको भन्सार रकम बुझाउनुपर्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।

जनकपुर भन्सार कार्यालयका अनुसार २०८२ सालको वैशाखदेखि भदौसम्म जटही नाकाबाट २० हजार ३४ वटा भारतीय नम्बरका सवारीसाधन जनकपुरधाम प्रवेश गरेका थिए । चालु २०८३ सालको सोही अवधिमा प्रवेश गर्ने भारतीय नम्बरका सवारीसाधनको संख्या बढेर २० हजार ९ सय ४ पुगेको छ ।

सवारीसाधनको प्रवेश संख्या करिब ४ प्रतिशत मात्रै बढे पनि सोही अवधिमा भन्सार महसुल भने झण्डै ४० प्रतिशतले बढेको देखिन्छ । कार्यालयले राजस्व वृद्धिको मुख्य कारण सीमामा गरिएको निगरानी, निकासी दर्तामा कडाइ र नियम उल्लंघन गर्ने सवारीधनीमाथि गरिएको जरिवाना असुली रहेको जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार