सप्तरीमा शिक्षकको कुटाइबाट कक्षा ८ की विद्यार्थी घाइते
राजविराज । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ स्थित श्री महावीर माध्यमिक विद्यालयमा शिक्षकको कुटाइबाट एक विद्यार्थी घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार विद्यालयमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीया अरफा खातुनलाई शिक्षक देवनारायण झाले कुटपिट गरेका हुन् ।
कुटपिटबाट घाइते भएकी खातुनलाई उपचारका लागि राजविराजस्थित अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि उनलाई विराटनगर लगिएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए । उनका अनुसार विद्यार्थीको अवस्था हाल सामान्य रहेको छ ।
प्रहरीका अनुसार विद्यार्थीले पटक–पटक अटेर गरेको भन्दै शिक्षकले उनलाई दुई झापड हानेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानबाट थप तथ्य खुलेपछि मात्र विस्तृत विवरण सार्वजनिक गर्न सकिने प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।