नौ वर्षपछि धनुषाका २४२ परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा


जनकपुरधाम । संविधान दिवस २०८३ को अवसरमा धनुषाका क्षीरेश्वरनाथ नगरपालिका–२ का २ सय ४२ परिवारले लामो समयपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन् ।

सर्वे नापी टोलीले गाउँब्लकको जग्गा नापजाँच गरेको करिब नौ वर्षपछि उनीहरूले स्ववासी जग्गाको सरकारी स्वामित्व प्रमाणित गर्ने जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको अध्यक्षतामा आयोजित एक समारोहबीच नापी कार्यालयले २ सय ४२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो । पुस्तौंदेखि सोही जग्गामा घर बनाएर बसोबास गर्दै आएका स्थानीयले लामो प्रतीक्षापछि सरकारी प्रमाण प्राप्त गरेकोमा खुसी व्यक्त गरेका छन् ।

वर्षौंदेखि बसोबास गर्दै आए पनि जग्गाको स्वामित्वसम्बन्धी आधिकारिक प्रमाण नहुँदा स्थानीय विभिन्न प्रशासनिक तथा आर्थिक काममा समस्या भोग्दै आएका थिए । लालपुर्जा प्राप्त भएपछि आफ्नो बसोबास रहेको जग्गामाथिको कानुनी स्वामित्व स्थापित भएको भन्दै उनीहरूले राहत महसुस गरेका छन् ।

स्थानीयका अनुसार गाउँब्लकको जग्गा नापजाँच सम्पन्न भए पनि विभिन्न प्रक्रियाका कारण जग्गाधनी प्रमाणपुर्जा वितरणमा लामो समय लागेको थियो । संविधान दिवसको अवसरमा लालपुर्जा प्राप्त भएपछि पुस्तौंदेखिको बसोबासले सरकारी अभिलेखमा समेत औपचारिकता पाएको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार