बारामा दुई महिनामै १६४ सवारी दुर्घटना, १८ जनाको मृत्यु


बारा । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै बारामा १ सय ६४ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ भने २ सय ३३ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार साउन र भदौ महिनामा भएका दुर्घटनामा ठूलो मानवीय क्षति भएको हो । पूर्व–पश्चिम राजमार्ग तथा वीरगन्ज–पथलैया सडकखण्डमा बढ्दो सवारी चापसँगै सडक सुरक्षा चुनौतीसमेत बढेको प्रहरीको तथ्यांकले देखाएको छ ।

यसैक्रममा भदौ ३१ गते राति जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित सागर आयल पेट्रोल पम्पनजिकै भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत ऐरोटेक ग्यास कम्पनीबाट पूर्वतर्फको सर्भिस लेन हुँदै एक्सप्रेस–वेमा प्रवेश गरिरहेको ना.३ ख ५६१० नम्बरको एलपी ग्यास बोकेको ट्रकले जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको ना.४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए । उनीहरूलाई तत्काल उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका–१५ नगवाका करिब ३५ वर्षीय रविन्द्र उपाध्याय र बाराको करैयामाई गाउँपालिका–७ का करिब ३० वर्षीय दिलिप चौधरी रहेको प्रहरीले जनाएको छ । दुवैको राति करिब ९ः१० बजे उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक र पछाडि सवारमध्ये को चालक थिए भन्ने तत्काल स्पष्ट नभएको तथा दुवैको शव नारायणी अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

बाराका मुख्य सडकखण्डमा सवारीको चाप बढ्दै जाँदा तीव्र गति, लेन अनुशासनको कमी, सडकको संरचना तथा चालक र पैदलयात्रुको सावधानीको अभाव सडक सुरक्षाका चुनौतीका रूपमा देखिएका छन् ।

विशेषगरी बजार, बस्ती तथा अस्पताल आसपास पैदलयात्रुको चाप बढी हुने भएकाले सवारी चालकले गति नियन्त्रण गर्नुपर्ने र पैदलयात्रुले समेत सडक पार गर्दा आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ । पछिल्ला दुर्घटनाको तथ्यांकले सडक सुरक्षा तथा ट्राफिक अनुशासनमा थप कडाइको आवश्यकता देखाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार