आर्सनलको पुनरागमन जित


काठमाडौं, २१ फागुन । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले पुनरागमन जित निकालेको छ ।

शनिबार घरेलु मैदान एमिरेट्स स्टेडियमका भएको खेलमा आर्सनलले दुई गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै एएफसी बर्नमाउथलाई ३–२ ले हराएको हो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रेईस नेल्सनले ९७औं मिनेटका गोल गरेपछि आर्सनलले महत्वपूर्ण तीन अंक जोड्न सफल भएको थियो ।

त्यसअघि खेलको पहिलो मिनेटमै फिलिप बिलिङले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए । मार्कोस सेनेसीले ५७औं मिनेटमा गोल गर्दै बर्नामाउथको अग्रता दोब्बर पारेका थिए । तर उसले दुई गोलको अग्रता कायम राख्न भने सकेन । आर्सनलले ८ मिनेटमा दुई गोल फर्काउँदै खेल बराबरी गरेको थियो ।

आर्सनलका थोमस पार्टेले ६२औं र बेन ह्वाईटले ७०औं मिनेटमा गोल गरेपछि आर्सनलले खेलमा पुनरागमन गर्न सफल भएको थियो ।

बराबरीतर्फ पुगेको खेलको नेल्सनले ईन्जुरी टाइमको सातौं मिनेटमा शानदार गोल गर्दै आर्सनललाई जित दिलाएका थिए ।

जितपछि २५ खेलबाट ६३ अंक जोडेको आर्सनलले फेरी पनि दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि ५ अंकको अग्रता बनाउन सफल भएको छ । सिटीको समान खेलबाट ५८ अंक रहेको छ भने चेल्सीले लिड्सलाई १–० ले हराएको छ । एजेन्सी

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार