जनकपुरधामको व्यापार चौपट, मेलाको नाममा भ्रम फैलाउने काम भइरहेको टिप्पणी


जनकपुरधाम, ३ फागुन । जनकपुरधामका व्यापारीहरूलाई अहिले बैंकको ब्याज र कोठाभाडा तिर्न पनि मुस्किल भइरहेको अवस्थामा यहाँ अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्नु आफैंमा हास्यास्पद रहेको टिप्पणी हुन थालेको छ ।

यहाँका व्यापारीहरूको छाता संगठनको रुपमा रहेको जनकपुरधाम उद्योग वाणिज्य संघले व्यवसायीको समस्या समाधान गर्न पहल गर्नुपर्नेमा फागुन ५ गतेदेखि अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्न लागेको हो ।

जनकपुरधाम उद्योग वाणिज्य संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साहले जनकपुरधाममा आयोजना हुन लागेको यस अन्तर्राष्ट्रिय व्यापार मेलाको कुनै तुक नरहेको बताएका छन् ।

उनले अहिलेको वर्तमान अवस्थामा स्थानीय उत्पादन र यहाँका उद्योग तथा व्यापार व्यवसायलाई प्रवर्द्धन गर्नुपर्नेमा जनकपुरधाम उद्योग वाणिज्य संघ आर्थिक चलखेलको माध्यम बनाएर व्यापार मेला आयोजना गर्न लागेको आरोपसमेत लगाए । उनले यस मेलाले अन्तर्राष्ट्रिय बजारलाई मात्र फाईदा पुग्ने दाबी गरे ।

उनले भने, ‘जनकपुरधाम उद्योग वाणिज्य संघको सदस्य रहेका करिब ५ हजार २ सय व्यापारीक प्रतिष्ठानहरू मध्ये अधिकांशको त्राहिमाम अवस्था छ । बैंकको ब्याज एक अंकबाट दोहोरो अंकमा पुगिसकेको छ । व्यापार व्यवसाय चौपट अवस्थामा छ । तर, मेलाको नाममा यहाँ भ्रम फैलाउने काम मात्रै गरिँदै छ ।’

उनले प्रश्न गर्दै भने, ‘मेलामा कहाँको सामानहरू रहन्छ ? यहाँको पैसा कहाँ जान्छ ? के मेलामा स्थानीय उत्पादनलाई प्राथमिकतामा राखिएको छ ? यहाँका स्थानीय व्यापारीहरूलाई विशेष ग्राहयता दिइएको छ ? केही छैन ।’

साहले यस मेलाबाट स्थानीय व्यापारीलाई कुनै लाभ नपुग्ने दाबीसमेत गरे । उनले यो मेला भ्रम मात्रै रहेको बताए ।

‘त्यहाँ गएर नाचगाना हेरेर मात्रै आउने हो । जनकपुरधामको व्यापारीको हकमा मेलाको कुनै औचित्य छैन । यहाँका व्यापारी आर्थिक मार खेपिरहेका छन्,’ उनले भने,’ तर, व्यापार मेलाको नाममा तामझाम र तडकभडक गर्दै उद्योग वाणिज्य संघको आगामी निर्वाचनको तयारी मात्रै गरिँदैछ । थप अरु केही होइन ।’

साहले आफू व्यापार संघको निवर्तमान वरिष्ठ उपाध्यक्ष भएपनि वर्तमान कार्यसमितिले कुनै पनि काममा कुनै प्रकारको सोधखोज नगरेको गुनासोसमेत गरे ।

जनकपुरधामको रामचोकमा ग्यास व्यवसाय सञ्चालन गर्दै आएका जिपी मण्डल भन्छन्, ‘जनकपुरधाममा व्यपारीहरूको अवस्था नाजुक छ ।घर भाडा र कर्मचारी खर्च तिर्न सक्ने अवस्था छैन । तर, खुसियालीमा यहाँ अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना भइरहेको छ । यो हास्यास्पद नै हो ।’

उनले सोचेजस्तो व्यापार नहुँदा व्यवसायीहरू चिन्तित भएको बताए । बजारमा चहल–पहल नहुँदा र सोचेजस्तो व्यापार नहुँदा यहाँका व्यवसायीहरू चिन्तित देखिएको उनको भनाइ छ ।

‘चाडपर्वको लागि किनमेल गर्न सीमावर्ती भारतीय बजारमा जाने नेपालीहरू बढेसँगै जनकपुरधाम बजारमा व्यापार घट्न थालेको छ ।भारतीय बजारमा भने नेपाली ग्राहकको भीडभाड बढेको छ, ‘उनले भने, ’तर, खुसियालीमा यहाँ जनकपुरधाम उद्योग वाणिज्य संघले व्यापार मेलाको आयोजना गर्न लागेको छ । त्यस मेलाले यहाँको व्यापार व्यवसायमा कुनै प्रगति हुँदैन ।’

मण्डलका अनुसार विगतमा यहाँको बजारमा निकै चहल–पहल हुने गरेपनि अहिले भने व्यावसाय फस्टाउन सकेको छैन । उनले खुला सीमानाकाका कारण व्यवसाय नै चौपट भएको गुनासो पनि गरे ।

‘बैंकहरूले व्यापारीलाई बर्बाद बनाइसकेको छ,’ मण्डल भन्छन्, ‘बैंकलाई ब्याज तिर्नै पर्छ । घरधनीले कोठाभाडा मागेकै छन् । व्यापार व्यवसाय केही छैन् । कहाँबाट तिर्ने ? समस्या छ ।’

हामीले व्यवसायीहरूको कोठाभाडा मिनहाका साथै बैंकको ब्याजमा सहुलियतको लागि पहल गरिदिन प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएपनि व्यवसायीहरूको सवालमा कुनैपनि निकायले अहिलेसम्म केही नबोलको उनको गुनासो छ ।

‘व्यवसायीहरूले स्थानीय तहलाई करपनि बुझाइरहेका छन् । हरेक समस्यामा सहयोग गरेका छन्, ’उनी भन्छन्, ‘तर अहिले उनीहरू समस्यामा परेको बेला कसैले केही बोलिदिएको छैन् । झन पीडा थप्ने काम मात्रै हुँदैछ ।’

व्यवसायीहरू अहिले बैंकको ब्याज तिर्नसक्ने अवस्था नरहेको बताउँदै उनले भने, ‘व्यवसायीहरू ठूलो मार्कामा परेका छन् । बैंकले ब्याजको लागि ताकेदा गरिरहेको छ । राजश्व कार्यालयले कर बुझाउन भनेको छ । तर, व्यवसाय नै नभएपछि कसरी ब्याज तिर्ने र कहाँबाट कर बुझाउने ?’

सरकारको तर्फबाट पनि ब्याजमा छुट दिने प्रोपगण्डा भएपनि अहिलेसम्म कुनै पहल नभएको उनको दुःखेसो छ ।

त्यस्तै, व्यापार व्यवसाय सञ्चालन गरेपनि सोचे जस्तो व्यापार हुन नसकेको जनकपुरधामको मुख्यबजार शिवचोकमा फैन्सी जुत्ता पसल सञ्चालन गर्दै आएका जानी खानले बताए । बजारमा ग्राहकहरूको उपस्थिती न्यून रहेको उनी बताउँछन् ।

उनले कोरोनाकाल पछि यहाँको व्यापार धारासायी भइरहेको अवस्थामा यहाँको व्यापार व्यवसायलाई उकास्न नेतृत्ववर्गले ध्यान दिनुपर्नेमा उल्टै व्यापारीलाई नै बायकट गरेर अगाडि बढनु दुःखद रहेको बताए ।

जनकपुरधाम व्यापार मेलामा स्थानीय उत्पादनलाई प्राथमिकतामा नराख्नु ठूलो बिडम्बना रहेको बताउँदै उनले भने, ‘स्थानीय उत्पादनलाई विशेष प्राथमिकतामा नराख्नु दुःखद छ । यो मेलाले कसैलाई व्यक्तिगत फाइदा मात्रै हुन सक्छ । यहाँका व्यापारीको हकमा यसको कुनै अर्थ छैन ।’

खानले भने, ‘हामी मुख्यबजारमा वर्षौंदेखि व्यवसाय गरिरहेका छौं । अहिलेसम्म व्यापार संघबाट कसैले मेलामा तपाईं पनि आफ्नो स्टल लगाउनु हुन्छ कि भनेर सोध्नसमेत आएका छैनन् । मेलाको बारेमा हामीलाई कुनै जानकारी छैन ।’

जानीले यो मेला कुनै सिमित वर्गमै सिमित रहेको र यहाँका पूराना व्यापारीक प्रतिष्ठानहरूलाई बायकट गरेर कुनै सोधखोज नै नगरिएकोप्रति आपत्तिसमेत जनाएका छन् ।

आयोजकको दाबी यस्तो

यता, जनकपुरधाममा आयोजना हुन लागेको ‘जनकपुरधाम व्यापार मेला २०७९’का आयोजक जनकपुरधाम उद्योग वाणिज्य संघको आफ्नै दाबी छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी तथा प्रतिष्ठानहरूलाई एउटै छानामुनि सहभागी गराई अनुभव आदान प्रदान तथा व्यापारको नयाँ आयाम एवं सम्भाव्यता सिर्जना हुने आशाका साथ व्यापारिक मेलाको आयोजना गर्न लागिएको बताए ।

मेलामा स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने प्रमुख उद्देश्यलगायत सार्क राष्ट्रहरू भारत, पाकिस्तान र बंगलादेशका विभिन्न क्षेत्रका व्यापारीको पनि सहभागिता रहने अध्यक्ष महासेठको दाबी छ ।

मेलामा औद्योगिक अवसरहरूको सम्भावित अध्ययन तथा क्षेत्रीय स्तरमा लगानी गरी विदेशबाट आउने व्यापारी तथा उद्योगीहरूलाई प्रोत्साहित गरी स्थानीय तथा अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्धमा विस्तारका लागि सहकार्य गरिने उनको दाबी छ ।

उनले यस वृहत् मेलाले पर्यटन विकासमा समेत टेवा पुर्याउने विश्वाससमेत व्यक्त गरेका छन् । स्थानीय उत्पादनलाई पनि विशेष प्राथमिकतामा राखिएको उनको दाबी छ ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार