आरोन फिन्चद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा


एजेन्सी, २४ माघ । अस्ट्रेलिया टोलीका विश्व विजेता कप्तान आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिए पनि फिन्चले घरेलु लिगहरू भने खेल्ने छन् । उनले बिग बास लिग र अन्य घरेलु टी–२० प्रतियोगिता खेल्ने जनाएका छन् ।

फिन्चले गत सेप्टेम्बरमा एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्यास लिएका थिए । उनले अस्ट्रेलियाका लागि पाँच टेस्ट, १४६ एकदिवसीय र १०३ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् ।

फिन्चको कप्तानीमा अस्ट्रेलियाले पहिलोपटक २०२१ को टी–२० विश्वकप जितेको थियो ।

उनी अस्ट्रेलियाका लागि टी–२० क्रिकेटमा सर्वाधिक उच्च स्कोर बनाउने ब्याटर हुन् । फिन्चले ३ जुलाई २०१८ मा जिम्बाब्वेविरुद्ध ७६ बलमा १७२ रनको विस्फोटक पारी खेलेका थिए ।

उनी टी–२० मा अस्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने ब्याटर पनि हुन् । फिन्चले टी–२० करियरमा १०३ खेलमा दुई शतक र १९ अर्धशतकको मद्दतमा ३ हजार १२० रन बनाए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार