जनकपुरधाम । मोहम्मद जयन्ती (मोहम्मद दिवस) को अवसरमा मधेश प्रदेशमा मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिइने भएको छ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै २०८३ साल भदौ १० गते बुधबार मोहम्मद जयन्ती परेकाले मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने व्यवस्था गरिएको जनाएको हो।
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीलाई बिदा दिने व्यवस्था रहेकाले सोहीअनुसार मधेश प्रदेशमा पनि बिदा कार्यान्वयन गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता राधेशंकर प्रसाद पालद्वारा जारी सूचनामार्फत प्रदेशका सम्बन्धित सबै निकाय तथा सरोकारवालालाई यसबारे जानकारी गराइएको छ।
यसअनुसार भदौ १० गतेको बिदा मुस्लिम धर्मावलम्बीका लागि मात्र लागू हुने र अन्यका लागि नियमित रूपमा कार्यालय तथा सेवा सञ्चालन हुने व्यवस्था रहेको छ।


