महन्थ ठाकुरको तस्बिर प्रयोगबारे जसपा महासचिव र राष्ट्रिय मुक्ति पार्टीका महासचिवबीच सामाजिक सञ्जालमा जुहारी


जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुरको तस्बिर प्रयोग गरी ‘हुंकार मधेश’ नामक सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको भनिएको पोस्टरलाई लिएर जसपा नेपालका महासचिव सुरेन्द्र कुमार झा र राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाबीच सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप चलेको छ।

‘हुंकार मधेश’को नाममा सार्वजनिक पोस्टरमा महन्थ ठाकुरको तस्बिर राख्दै पार्टीभित्र आत्मसमीक्षा, पुस्तान्तरण र युवालाई नेतृत्वमा अवसर दिनुपर्ने विषय उठाइएको छ। पोस्टरमा ‘पार्टी तब तक सफल नहीं होगी, जब तक आत्मसमीक्षा कर भविष्य के कर्णधारों के लिए रास्ता प्रशस्त नहीं किया जाएगा’ भन्ने सन्देशसहित ‘हुंकार मधेश–परिवर्तनका लागि युवा अभियान’ उल्लेख गरिएको छ।

पोस्टर सार्वजनिक भएपछि जसपा नेपालका महासचिव सुरेन्द्र कुमार झाले सामाजिक सञ्जालमार्फत ठाकुरको तस्बिर प्रयोगप्रति आपत्ति जनाएका छन्। उनले महन्थ ठाकुर जसपा नेपालको संरक्षक तथा राष्ट्रिय सभा सदस्य रहेको उल्लेख गर्दै उहाँको तस्बिर दुरुपयोग नगर्न आग्रह गरेका छन्।

झाले विगतमा ठाकुरसँगै काम गरेका केही व्यक्तिहरूले पार्टी छाडेको प्रसंग उठाउँदै अहिले फेरि ठाकुरको ज्ञान र मार्गदर्शनलाई प्रयोग गर्न खोजिएको हो कि भन्ने प्रश्नसमेत गरेका छन्। लोकतन्त्रमा नयाँ दल खोल्न, फरक मत राख्न र आफ्ना विचार जनतामाझ लैजान सबैलाई अधिकार भए पनि संगठित पार्टीका नेताको तस्बिर प्रयोग गर्दा संवेदनशील हुनुपर्ने उनको भनाइ छ।

यता राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले महासचिव झाको आरोपको खण्डन गर्दै उक्त पोस्टर ‘हुंकार मधेश’को टोलीले नबनाएको दाबी गरेका छन्। उनले आफूहरूले ठाकुरसँग भेटेर सुझाव लिएको र त्यतिबेला मूल तस्बिर नै प्रयोग गरेको बताएका छन्। कसैले बदनाम गर्ने उद्देश्यले पोस्टर तयार गरेको हुनसक्ने भन्दै वास्तविकता पत्ता लगाएर कारबाही गर्न उनले सुझाव दिएका छन्।

महासचिव केशव झाको टिप्पणीपछि महासचिव झाले पुनः जवाफ दिँदै आफूहरूको प्रश्न ठाकुरसँग भेटघाट र सुझाव लिएको विषयमा नभएको स्पष्ट पारे। उनले महन्थ ठाकुरसहित मधेशका विभिन्न नेताहरू विगतमा एकताबद्ध हुँदै शक्ति निर्माण गरेको र पछि विभाजन भएको राजनीतिक पृष्ठभूमिबारे नागरिकले प्रश्न गर्नुपर्ने बताएका छन्।

उनले ‘नागरिकको आँखामा धुलो झोक्ने प्रयास गर्न नहुने’ भन्दै विगतका राजनीतिक घटनाक्रमको गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।

त्यसको जवाफमा महासचिव झाले राजनीतिक एकता र विभाजनको पृष्ठभूमिबारे महासचिव झा जानकार रहेको भन्दै ‘सबै कारनामाको छिट्टै पर्दाफास हुने’ दाबी गरेका छन्। उनले ‘हुंकार मधेश’ले पोस्टर नै नबनाएको अवस्थामा त्यसलाई लिएर प्रश्न उठाउनुको औचित्य नभएको बताएका छन्। साथै संवादका लागि आफूहरू तयार रहेको पनि बताएका छन्।

महासचिव झाले अन्तिम जवाफमा आफूले गम्भीर विश्लेषण गर्ने भन्दै यस विषयमा आफ्नो प्रश्न राखिसकेको र आवश्यक परे पुनः सम्पर्क गर्ने बताएका छन्।
यता हुंकार मधेश टिमले सार्वजनिक तस्बिरसंग आफनो कुनै लेनादेना नरहेको भनेर पोस्ट गरेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार