जसपा नेपालमा युवा पलायनप्रति पूर्वमन्त्री सुरेश मण्डलको असन्तुष्टि


जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा पूर्वमन्त्री सुरेश मण्डलले पार्टीबाट युवाहरू बाहिरिन थालेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मण्डलले मधेश जनविद्रोहको जननी राजनीतिक शक्ति जसपा नेपालबाट एकपछि अर्को युवा नेताहरू पलायन भइरहेको देख्दा आफू अशान्त र अधीर भएको बताएका छन्।

उनले पार्टी छाड्नु बहादुरी नभएको भन्दै युवा नेताहरूलाई प्रतिकूल परिस्थितिको सामना गर्दै पार्टीभित्रै रहेर अन्याय, अत्याचार र विकृति–विसंगतिविरुद्ध संघर्ष गर्न आग्रह गरेका छन्।

मण्डलले मधेश आन्दोलनका बेला कतै नदेखिएका तथा विगत निर्वाचनमा मतदान गर्नसमेत नआएका व्यक्तिहरूको पदोन्नति भएको, तर मधेश आन्दोलनदेखि नै पार्टीका लागि धन, सम्पत्ति, समय, ऊर्जा र जवानी समर्पित गरेका लोकप्रिय युवा नेताहरूलाई केन्द्रीय समितिबाट हटाइएको आरोप लगाएका छन्।

राजनीतिमा यस्तो अवस्था जोसुकैका लागि पनि असह्य र पीडादायी हुने उल्लेख गर्दै उनले युवा नेताहरूलाई नआत्तिन आग्रह गरेका छन्।

‘अबको समय युवाको हुनेछ’ भन्दै मण्डलले समय र पानीको बेगलाई केही समय रोक्न सकिए पनि पूर्ण रूपमा छेक्न नसकिने टिप्पणी गरेका छन्। उनका अभिव्यक्तिले जसपा नेपालको पछिल्लो संगठनात्मक निर्णयप्रति असन्तुष्टि र पार्टीभित्रको आन्तरिक बहसलाई थप सतहमा ल्याएको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार