जनकपुरमा कार्यस्थलमै चिकित्सकमाथि कुटपिट, दोषीलाई कारबाही गर्न चिकित्सक संघको माग


जनकपुरधाम। जनकपुरधामस्थित जनकपुर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टरमा कार्यरत चिकित्सक डा. शशी शेखर अधिकारीमाथि कार्यस्थलमै कुटपिट भएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ।

संघका अनुसार भदौ ६ गते डा. अधिकारी स्वास्थ्य संस्थामा कार्यरत रहेका बेला एक समूहका व्यक्तिहरू संस्थाभित्र प्रवेश गरी उनीमाथि हातपात गरेका थिए। घटनामा चिकित्सकका भाइसमेत घाइते भएको संघले जनाएको छ।

स्वास्थ्य संस्थाभित्रै चिकित्सकमाथि भएको आक्रमणलाई संघले स्वास्थ्यकर्मीको सुरक्षामाथिको गम्भीर चुनौती र दण्डहीनताको उदाहरणका रूपमा लिएको छ। संघले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले जारी गरेको विज्ञप्तिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।

संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने हातपात, धम्की र दुर्व्यवहारका घटनाप्रति शून्य सहनशीलताको नीति अपनाउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएको छ।

यसैबीच, घटनाबारे प्रतिक्रिया लिन पीडित भनिएका डा. अधिकारीसँग सम्पर्क गर्दा उनले आफ्ना बुवा आईसीयूमा रहेकाले अहिले घटनाबारे कुरा गर्न नसक्ने बताए।

जिल्ला प्रहरी कार्यालय धनुषाले भने चिकित्सकमाथि कुटपिट भएको घटना पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको र प्रारम्भिक अनुसन्धानबाट घटना भएको देखिएको छ।

डिएसपी खनालले घटनासँग सम्बन्धित सीसीटीभीसमेत आक्रमणकारीहरूले लिएर गएको जानकारी प्राप्त भएको बताए। प्रहरीले मोबाइलमा रहेका केही प्रमाणका आधारमा अनुसन्धान अघि बढाएको र घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको उनको भनाइ छ।

स्वास्थ्य संस्था उपचार र सेवाका लागि सुरक्षित क्षेत्र हुनुपर्नेमा कार्यस्थलमै चिकित्सकमाथि आक्रमण भएपछि जनकपुरमा स्वास्थ्यकर्मीको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।

नेपाल चिकित्सक संघले दोषीमाथि तत्काल कानुनी कारबाही गरी चिकित्सक तथा स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार