बालिकाको हत्या आरोपमा सौतेनी आमा पक्राउ


सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा दुई वर्षीया बालिका खुशी खातुनको हत्या आरोपमा प्रहरीले उनकी सौतेनी आमालाई पक्राउ गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा सौतेनी आमा १९ वर्षीया मुस्कान खातुनको संलग्नता देखिएको सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्काले बताएका छन्।

मोहम्मद इरफानकी छोरी खुशी आइतबार बिहान घरबाट हराएकी थिइन्। हराएको करिब दुई घण्टापछि उनको शव घरपछाडिको झाडीमा फेला परेको थियो। प्रहरीले शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको छ।

प्रहरीका अनुसार मृतककी सौतेनी आमा मुस्कान र मृतककी आमाबीच यसअघि विवाद हुँदै आएको थियो। शनिबार पनि दुई महिलाबीच सौता सम्बन्धी विषय तथा सम्पत्तिको हकदार को हुने भन्ने विषयमा विवाद भएको स्थानीयले बताएका छन्। मृतकका बुवा मोहम्मद इरफान वैदेशिक रोजगारीका क्रममा कतारमा रहेको बताइएको छ।

एसपी खड्काका अनुसार बालिकाको शरीरमा बाहिरी चोटपटक देखिएको छैन। प्रारम्भिक अनुसन्धानमा घटनामा एक जनाको मात्रै संलग्नता देखिएको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बालिका हराएको खबर पाएपछि प्रहरीले खोजी थालेको थियो। घटनाको विरोधमा स्थानीयले आइतबार दिउँसो केहीबेर रुपनी बजार बन्द गराएका थिए। अहिले बजार तथा राजमार्गको अवरोध हटिसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार