सप्तरी, १ चैत । सप्तरीमा एक १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको कसुरमा जिल्ला अदालत सप्तरीले एक अभियुक्तलाई जन्मकैदको सजाय सुनाएको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने १९ वर्षीय चन्दनकुमार साहलाई जिल्ला अदालत सप्तरीले जन्मकैदको सजाय सुनाएको हो ।
जिल्ला अदालत सप्तरीका न्यायाधीश हर्कबहादुर क्षेत्रीको एकल इजलासले अभियुक्तलाई जन्मकैद हुने फैसला सुनाएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए ।
अभियुक्त साहले बालिकालाई २०७८ फागुन २२ गते बलात्कार गरेका थिए । पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा घटनाकै दिन उजुरी दिएकी थिइन् । बुबाआमा ज्याला मजदुरीका लागि घरबाहिर गएको मौकाछोपी आरोपितले घरदेखि पश्चिम रहेको पोखरीको डिलमुनि लगेर बलात्कार गरेको पीडितले बयान दिएकी थिइन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपितलाई फागुन २२ गते पक्राउ गरेको थियो । जिल्ला अदालतमा २०७८ चैत १७ गते अभियोजनपत्र दायर भएकोमा जिल्ला न्यायाधीश प्रमेश पोखरेलको आदेशमा आरोपित २०७८ चैत २० गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारस्थित थुनामा थिए ।
यस्तै सप्तरीकी २५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सप्तरी डाक्नेश्वरी नगरपालिका–८ का एक युवकलाई सात वर्ष कैद सजाय भएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश श्याम विहारी मौर्यको इजलासले ३० वर्षीय सुन्दर मुखियालाई ७ वर्ष कैद सजाय हुने फैसला गरेको हो ।
आरोपितलाई ७ वर्ष कैदका साथै पीडितलाई ५० हजार क्षतिपूर्ति दिनुपर्ने र फौजदारी कसुर राहत पीडित कोषमा १ हजार ३ सय रुपैयाँ जम्मा गर्नुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी पोखरेलले जानकारी दिए ।
आरोपित २०७६ पुस ११ गते पक्राउ परेपछि माघ ६ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थिए ।


