सिरहा । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समुदायविरुद्ध भ्रामक, आधारहीन र धम्कीपूर्ण सामग्री सार्वजनिक गरी सामाजिक शान्तिमा खलल पुर्याएको आरोपमा सिरहामा मनोज मानव भन्ने मनोज कुमार महतो पक्राउ परेका छन्।
लहान नगरपालिका–२४ का महतोले लामो समयदेखि जिल्लाका उद्योगी, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, राजनीतिक व्यक्ति तथा राष्ट्रसेवक कर्मचारीलगायत विभिन्न व्यक्ति र समुदायलाई लक्षित गरी तथ्यहीन सामग्री पोस्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
त्यस्ता सामग्रीका कारण व्यक्तिको प्रतिष्ठामा असर पर्नुका साथै सामाजिक सद्भाव र शान्तिमा समेत खलल पुग्न सक्ने अवस्था देखिएकाले प्राप्त जाहेरीका आधारमा साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पार्न नहुनेसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको हो।
पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजतलास गर्ने क्रममा महतोलाई उदयपुरको चतरा पुलपारिको एक होटलमा लुकिछिपी बसेको अवस्थामा असोज ४ गते पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको सहयोगमा पक्राउ गरी सिरहा ल्याइएको छ।
महतोमाथि सामाजिक सञ्जालमा आपत्तिजनक तथा भ्रामक सामग्री सम्प्रेषण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा साइबर अपराधसम्बन्धी आधा दर्जन मुद्दा दर्ता भइसकेको सिरहाका प्रहरी प्रमुख बासुदेव पाठकले बताए।
यसैबीच महतोले आफूलाई पूर्व जनतान्त्रिक लडाकु भएको र आफूसँग स्वचालित हतियार रहेको भन्दै केही व्यक्तिलाई धम्की दिने तथा हतियारका तस्बिर पठाएर आपराधिक लाभ लिन खोजेको सूचनासमेत प्राप्त भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानबाट खुलेका तथ्यका आधारमा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।


