अहिले करीना कपूर खान आफ्नो नयाँ फिल्म ‘दायरा’को प्रचारप्रसारमा व्यस्त छिन् । करीना र करिश्मा दुवै दिदीबहिनी आफ्नै समयका निकै सफल र चर्चित अभिनेत्री हुन् । उनीहरूले आफ्नो अभिनयबाट ठूलो नाम कमाएका छन्। तर यहाँसम्म पुग्न दुवैका लागि सजिलो थिएन ।
उनीहरूका हजुरबुबा राज कपूर आफ्ना छोरी वा बुहारीहरूले फिल्ममा काम गरेको चाहँदैनथे । तर उनीहरूकी आमा बबिताले छोरीहरूको खातिर त्यो नियमविरुद्ध विद्रोह गरिन् । करिश्माले परिवारको परम्परा तोडेर पहिलोपटक फिल्ममा कदम राखिन् । उनले पहिले नै बाटो बनाइसकेकाले बहिनी करीनाका लागि भने फिल्म क्षेत्रमा आउन अलि सजिलो भयो ।
धेरै फ्यानहरूले करीना र करिश्मा आफ्ना हजुरबुबा राज कपूरजस्तै देखिने बताउँछन्। खासगरी उनीहरूको आँखालाई लिएर यस्तो टिप्पणी हुने गर्छ । करिश्माको आँखा हजुरबुबा राज कपूरको जस्तै निलो छ भने करीनाको गाढा हरियो ।
यही आँखालाई लिएर राज कपूरले अनौठो शर्त राखेका थिए । त्यो सर्तले गर्दा उनकी बुहारी बबिता निकै चिन्तित र अन्योलमा परेकी थिइन् । यो रोचक कथा बबिता कपूरले आफ्ना ससुरा राज कपूरको जीवनी ‘द वान एन्ड ओन्ली शोम्यान’मा बताएकी हुन्। जसअनुसार राज कपूरले नातिनी करिश्माको अनुहार नै नहेर्ने बताएका थिए ।
उनले नातिनीलाई हेर्नका लागि अनौठो शर्त राखेका थिए । जसअनुसार उनले भनेका थिए, ‘यदि नातिनीको आँखा मेरो जस्तै निलो भयो भने मात्र म उसलाई अस्पतालमा हेर्न आउनेछु, नत्र आउँदिनँ ।’
करिश्माको जन्म हुँदा पूरै परिवार अस्पतालमा थियो । तर, राज कपूर शर्त पूरा हुने पर्खाइमा घरमै बसे। जब करिश्माको जन्म भयो र उनको आँखा निलो छ भन्ने खबर पाए, तब राज कपूर खुसी हुँदै नातिनीलाई हेर्न अस्पताल पुगेका थिए ।
त्यसै जीवनीमा करिश्मा कपूर लोलो ले पनि आफ्ना हजुरबुबासँगको सम्बन्धबारे सम्झना सेयर गरेकी छिन् । उनी सानै उमेरदेखि हजुरबुबालाई आफू हिरोइन बन्न चाहेको कुरा बताउँथिन् । राज कपूरले उनलाई सम्झाउँदै कलाकार बन्न सजिलो नभएको, धेरै मेहनत र सङ्घर्ष गर्नुपर्ने बताउँथे ।
करिश्मा अक्सर हजुरबुबाको काखमा बसेर आफ्नो भविष्यका कुरा गर्थिन् । राज कपूरले पनि उनलाई प्रोत्साहन गर्दै ‘तिमी एक दिन ठूलो स्टार बन्नेछौ’ भनेर मख्ख पार्थे। हजुरबुबाको यही प्रेरणाले उनको करियरमा ठूलो भूमिका खेल्यो ।
बबिता कपूर आफू पनि आफ्नो समयकी राम्री अभिनेत्री थिइन् । तर विवाहपछि उनले अभिनय छोडिन्। तर छोरीहरूको पालो आएपछि भने उनी पछि हटिनन्। उनी आफ्ना छोरीहरूले आफ्नै पहिचान बनाऊन् भन्ने चाहन्थिन् ।
आखिर बबिताको त्यो सपना पूरा भयो र आज करीना र करिश्मा दुवै बलिउडका सफल र उत्कृष्ट अभिनेत्रीका रूपमा चिनिन्छन् ।


