एप्पलमा फेरि कर्मचारी कटौती


काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले दुई महिनाभन्दा कम अवधिमा दोस्रोपटक कर्मचारी कटौती गरेको छ। कम्पनीले आफ्नो फिटनेस प्लस सेवाको अडियो सामग्री निर्माण गर्ने टोलीमा कार्यरत केही कर्मचारीलाई हटाएको हो।

ब्लुमबर्गको रिपोर्ट अनुसार, पछिल्लो कटौती गत साता गरिएको हो। यसबाट फिटनेस प्लसअन्तर्गत एप्पल वाच प्रयोगकर्ताका लागि अडियोमा आधारित व्यायाम कार्यक्रम तयार गर्ने कर्मचारी प्रभावित भएका छन्।

यो कटौती एप्पलको नयाँ प्रमुख कार्यकारी अधिकृत जोन टर्नसको नेतृत्वमा भएको पहिलोपटकको कर्मचारी कटौती हो। टिम कुक चौध वर्षभन्दा बढी समय एप्पलको प्रमुख कार्यकारी अधिकृत रहेपछि सेप्टेम्बर १ बाट पदबाट हटेका छन् र अहिले कार्यकारी अध्यक्षको भूमिकामा छन्।

पछिल्लो कर्मचारी कटौती विशेषगरी फिटनेस प्लसका ‘टाइम टु वाक’ र ‘टाइम टु रन’ जस्ता कार्यक्रमसँग सम्बन्धित अडियो टोलीमा केन्द्रित रहेको बताइएको छ। कतिजना कटौति भए भन्ने चाहिँ हालसम्म खुलाइएको छैन।

‘टाइम टु वाक’ र ‘टाइम टु रन’ एप्पल वाच प्रयोगकर्ताका लागि तयार गरिएका निर्देशित अडियो कार्यक्रम हुन्। यी कार्यक्रम प्रयोग गर्दा प्रयोगकर्ताले व्यायाम वा हिँडडुलका क्रममा स्क्रीनमा भिडियो हेर्नुपर्दैन। अडियो निर्देशन सुन्दै उनीहरूले आफ्नो गतिविधि अघि बढाउन सक्छन्।

रिपोर्टअनुसार कर्मचारी घटाइएपछि फिटनेस प्लसका नयाँ अडियो सामग्री पहिलेको तुलनामा कम मात्रामा सार्वजनिक हुनसक्छन्। यद्यपि, एप्पलले यी कार्यक्रम तत्काल बन्द गर्ने तयारी गरेको संकेत छैन।

एप्पलले यसअघि अगस्टमा सिरी, भिजन प्रो र इन्टेलिजेन्ट सिस्टम्स एक्सपेरियन्स समूहमा कार्यरत दुई सयभन्दा बढी कर्मचारी कटौती गरेको थियो।

तीमध्ये करिब एक सय पद भिजन प्रो विभागसँग सम्बन्धित थिए। बाँकी करिब एक सय पद सिरी र सफ्टवेयर इन्जिनियरिङ टोलीमा रहेका थिए।

इन्टेलिजेन्ट सिस्टम्स एक्सपेरियन्स एप्पलको सफ्टवेयर इन्जिनियरिङ संरचनाअन्तर्गतको समूह हो, जसले कम्पनीका केही कृत्रिम बुद्धिमत्ता तथा सफ्टवेयर सुविधामा काम गर्छ।

सरकारी रोजगारीसम्बन्धी सूचनाका आधारमा एप्पलले क्यालिफोर्नियाको बे एरियामा एक सय ४७ जना कटौती गर्ने जानकारी पनि दिएको थियो। तीमध्ये ७९ जना कुपर्टिनोस्थित मुख्यालय र ६८ जना सन्नीभेल क्षेत्रमा रहेका थिए।

एप्पलको पछिल्लो कर्मचारी कटौती प्रविधि कम्पनीहरूले खर्च नियन्त्रण, संगठन पुनर्संरचना र कृत्रिम बुद्धिमत्तामा लगानी बढाइरहेको समयमा आएको हो।

विश्वका ठूला प्रविधि कम्पनीहरूले परम्परागत उत्पादन तथा सेवामा कर्मचारी संख्या घटाउँदै कृत्रिम बुद्धिमत्ता, स्वचालन र उच्च प्राथमिकताका उत्पादनमा स्रोत केन्द्रित गरिरहेका छन्। एप्पलले भने पछिल्लो कटौतीलाई कम्पनीभर गरिएको व्यापक पुनर्संरचना वा ठूलो कर्मचारी कटौतीका रूपमा घोषणा गरेको छैन।

कम्पनीले आफ्ना केही विभागमा कामको प्राथमिकता परिवर्तन गरिरहेको र सेवा सञ्चालनको लागत तथा संगठनात्मक संरचना पुनः मूल्यांकन गरिरहेको देखिन्छ। फिटनेस प्लसलाई पूर्ण रूपमा बन्द नगरी अडियो सामग्री प्रकाशनको गति घटाउनु त्यसैको संकेतका रूपमा हेरिएको छ।

अन्य ठूला प्रविधि कम्पनीको तुलनामा एप्पलले ठूलो संख्यामा कर्मचारी हटाउने अभ्यास कम गर्दै आएको छ।

तर पछिल्लो समय कम्पनीले सिरी, भिजन प्रो, सफ्टवेयर र फिटनेस प्लस जस्ता फरकफरक विभागमा चरणबद्ध रूपमा कर्मचारी कटौती गरेको छ।

विशेषगरी भिजन प्रोसम्बन्धी व्यवसायमा गरिएको कटौतीले एप्पलले मिश्रित वास्तविकता तथा हेडसेट व्यवसायको प्राथमिकता पुनः जाँच गरिरहेको संकेत गरेको थियो। भिजन प्रो टोलीमा गेमिङ, इमर्सिभ भिडियो, उपकरण सुरक्षा, अडियो इन्जिनियरिङ, सिरी एकीकरण र परीक्षणसँग सम्बन्धित कर्मचारीसमेत प्रभावित भएको रिपोर्टहरूमा उल्लेख छ।

पछिल्लो कटौतीका बाबजुद फिटनेस प्लस सेवा बन्द हुने कुनै संकेत सार्वजनिक भएको छैन। एप्पलले सेवा निरन्तर सञ्चालन गर्नेछ, तर नयाँ अडियो कार्यक्रम सार्वजनिक गर्ने अन्तराल बढ्नसक्ने रिपोर्टमा उल्लेख छ।

कम्पनीले स्वास्थ्य, फिटनेस र कृत्रिम बुद्धिमत्तासम्बन्धी आफ्ना सेवाबीच स्रोत कसरी बाँड्ने भन्ने विषयमा पुनर्विचार गरिरहेको हुनसक्ने विश्लेषण गरिएको छ। त्यसैले पछिल्लो कदमलाई फिटनेस प्लसको पूर्ण अन्त्यभन्दा पनि त्यसको सामग्री निर्माण र कर्मचारी संरचनामा गरिएको सीमित कटौतीका रूपमा बुझिएको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार