काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र चर्को रूपमा उठिरहेको नेतृत्व परिवर्तन र पुनर्गठनको मागलाई ठाडै अस्वीकार गरेका छन् । उनले आफूले अध्यक्ष पद नछाड्ने निष्कर्ष समेत केन्द्रीय समिति बैठकमा सुनाएका छन्।
सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन मार्फत उनले सङ्कटको समयमा पार्टीलाई नेतृत्वविहीन बनाएर आफू मैदान छाडी नभाग्ने प्रस्ट पारेका हुन्।
प्रतिवेदनको आठौँ बुँदामा आफूमाथि भइरहेका चौतर्फी आक्रमण र आलोचनाको चर्चा गर्दै ओलीले नीति, कार्यशैली, उम्मेदवार छनोट र निर्णय प्रक्रियामा पार्टीभित्र हुने आलोचना सुन्न आफू सधैँ तयार रहेको बताएका छन्।
तर, आलोचनाका नाममा स्वास्थ्य, उमेर, शरीर र विगतको सङ्घर्षलाई जोडेर विरोधीले चलाएको चरित्रहत्याको भाषा पार्टीभित्र भित्र्याउन खोजिएको भन्दै उनले आपत्ति जनाएका छन् । राष्ट्रिय स्वाधीनताको अडानलाई अहङ्कार, स्पष्ट भाषालाई तानाशाही र आत्मविश्वासलाई घमण्ड भन्नु राजनीतिक संस्कार नभएको उनको तर्क छ।
त्यसैगरी, नवौँ बुँदामा ‘पुनर्गठन’ को औचित्यमाथि प्रश्न उठाउँदै ओलीले यतिबेला अध्यक्ष विस्थापित गर्ने मनसायले ‘बेमौसमी बाजा’ बजाइएको दाबी गरेका छन्। चुनावी पराजयपछि नैतिक जिम्मेवारी लिनुको अर्थ सङ्गठनलाई अलपत्र पारेर हिँड्नु नरहेको उल्लेख गर्दै उनले भनेका छन्, ुम पदको निजी प्रतिष्ठाका लागि होइन, पार्टीको मनोबल, सङ्गठनात्मक स्थिरता र सुरक्षित राजनीतिक संक्रमणका लागि उभिएको हुँ।ु
आफू आत्मसमर्पणको नभई आत्मसमीक्षाको पक्षमा रहेको बताउँदै ओलीले पार्टी इतिहासमा २०२७ सालको झापा आन्दोलन र २०७५ सालको पार्टी विभाजनजस्ता असाधारण र बाध्यात्मक परिस्थितिमा मात्र पुनर्गठन भएको नजिर प्रस्तुत गरे। अहिलेको अवस्थामा नेतृत्व विस्थापनको कुनै औचित्य र सान्दर्भिकता नरहेको उनको ठम्याइ छ।
प्रतिवेदनको दशौँ बुँदामा रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणको बहसलाई व्याख्या गर्दै ओलीले पद खाली गर्ने आकस्मिक र मनमौजी कदमलाई नेतृत्व हस्तान्तरण भन्न नसकिने जिकिर गरेका छन्।
संस्थागत तयारीबिना गरिने हतारोको हस्तान्तरणले पार्टीमा गम्भीर रिक्तता पैदा गर्ने चेतावनी दिँदै उनले पुरानो रूखमा नयाँ पालुवा हुर्काउन जरा नकाटिने र जरालाई पोषण दिएर मात्र पालुवा मौलाउने दृष्टान्त दिएका छन् ।
एमालेको इतिहास जरा र नयाँ पुस्ता पालुवा भएको बताउँदै उनले उमेर कम हुनु आफैँमा योग्यता र बढी हुनु अयोग्यता नभएको तर्क गरेका छन्। अनुभव र ऊर्जाको संयोजनबाट मात्रै पार्टी चल्ने उल्लेख गर्दै उनले पुस्तान्तरणलाई विभाजनको नभई निरन्तरताको कडी बनाउनुपर्ने निष्कर्षका साथ नेतृत्व छाड्ने सम्भावनालाई पूर्ण रूपमा खारेज गरिदिएका छन्।


