काठमाडौं, २१ फागुन । ‘छक्कापञ्जा ४’ले घरेलु बक्स अफिसमा दुई दिनमा आक्रामक कमाइ गरेको छ ।
शुक्रबार र शनिबार ३ करोड रुपैयाँभन्दा बढी हाराहारीमा ब्यापार गर्दै फिल्मले नेपाली फिल्मलाई आर्थिकरुपमा चलायमान बनाएको हो ।
आगामी सोमबार, मंगलबार र बुधबार फागूपर्व र नारी दिवसको सरकारी बिदाले फिल्मको कमाइमा थप उछाल आउने प्रक्षेपण गरिएको जनाइएको छ । वितरक मनोज राठीले पहिलो सप्ताहन्त फिल्मले तीन करोड रुपैयाँभन्दा बढी कमाइ गरेको जनाएको छ ।
शुक्रबार १ करोड रुपैयाँ ओपनिङ गरेको फिल्मले दोस्रो दिन दुई करोड रुपैयाँसहित बढी कमाइ ग¥यो । शनिबार देशभरका मल्टिप्लेक्सदेखि सिंगल हलहरु शतप्रतिशत रह्यो । मल्टिप्लेक्सले आइतबारदेखि फिल्मको शोजमा वृद्धि पनि गरेका छन् ।
फिल्मको कूल कमाइमा मल्टिप्लेक्स र सिंगल पर्दा दुबैको योगदान उच्च रहेको छ । काठमाडौं उपत्यकासहित मोफसलमा समेत फिल्मको कमाइ उच्च छ । चलेको ब्राण्ड भएकाले पनि छक्कापञ्जाको ओपनिङ आक्रामक हुने प्रक्षेपण गरिएको थियो ।
हेमराज बीसीद्वारा निर्देशित पल्टिकल र कमेडी ड्रामामा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, रमेश बुढाथोकी, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा, नीर शाह, अनुराग कुवँर, राज आचार्य लगायतको शीर्ष भूमिका रहेका छन् ।



