सीमरा चक्कु प्रहार घटनाको मुख्य आरोपितसहित ५ जना प्रहरी नियन्त्रणमा


बारा ।जीतपुरसिमरा क्षेत्रमा चक्कु प्रहारबाट ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको घटनामा प्रहरीले मुख्य आरोपितसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा २३ वर्षीय आयुश राईलाई घटनाको करिब पाँच घण्टापछि शनिबार राति पक्राउ गरिएको हो। उनलाई जीतपुरसिमरा–१६, महेन्द्रनगरस्थित डाँडाटोलको धानखेतबाट राति करिब ९ः३० बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सिमरास्थित नेपाल केबुल अगाडि रहेको सम्झना स्टाफ होटलमा खड्का बसिरहेका बेला राईले होटलको भान्सामा रहेको चक्कु प्रयोग गरी उनको घाँटीमा प्रहार गरेका थिए। घटनापछि राई होटलबाट फरार भएका थिए।

राई महेन्द्रनगर पुगेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दयाकृष्ण भट्टको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीका अनुसार राई आफन्तको घरमा लुकेर बसेका थिए। प्रहरी पुगेपछि त्यहाँबाट भागेका उनी अर्को आफन्तको घर हुँदै धानखेत पुगेका थिए। प्रहरीले धानखेत घेरा हालेर उनलाई पक्राउ गरेको जनाएको छ।

राईलाई लुकाउन तथा भगाउन सहयोग गरेको आरोपमा उनका एक आफन्तलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका अन्य व्यक्तिहरूको परिचय प्रहरीले सार्वजनिक गरेको छैन।

यसअघि घटनापछि घाइते खड्कालाई उपचारका लागि बयोधा अस्पताल लैजाने क्रममा राईसँगै होटलमा आएका दुई युवकलाई प्रहरीले अस्पतालबाटै नियन्त्रणमा लिएको थियो। उनीहरूसँग घटनाबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार राईसहित तीन जना मदिरा सेवन गरेको अवस्थामा होटलमा आएका थिए। उनीहरूबीच विवाद भएको भनिए पनि विवादको कारण भने खुल्न सकेको छैन। होटल सञ्चालकलाई समेत प्रहरीले घटनाबारे सोधपुछका लागि नियन्त्रणमा राखेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार