जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा संघीय सांसद अमरेशकुमार सिंहले मधेशलाई बेवास्ता गरेर कुनै पनि सरकार अघि बढ्न नसक्ने बताएका छन् ।
आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा सिंहले वर्तमान सरकार पनि मधेशी जनताको जगमा बनेको दाबी गर्दै मधेशलाई बेवास्ता गरिए सरकारको जग नै कमजोर हुने बताए ।
“मधेशलाई माइनस गरेर कुनै पनि सरकार अगाडि बढ्न सक्दैन । अहिलेको सरकार पनि मधेशीको जगमा बनेको सरकार हो । मधेशलाई माइनस गरिए जग भत्किन्छ र जग भत्किएपछि घर रहँदैन,” उनले भने ।
आफूले सरकारको विरोध नगरेको दाबी गर्दै सिंहले जनप्रतिनिधिका रूपमा जनताको पक्षमा आवाज उठाएको बताए । आफू मन्त्री पदको लोभी नभएको उल्लेख गर्दै उनले राजनीतिमा कसले के पायो भन्दा कसले के गरेर गयो भन्ने महत्वपूर्ण हुने बताए ।
उनले मधेशको विकासमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउँदै मेडिकल कलेज निर्माणमा अवरोध, कमला र बागमती पुल निर्माणमा भइरहेको ढिलाइ तथा हुलाकी राजमार्ग अझै पूर्ण रूपमा निर्माण हुन नसकेको विषयमा प्रश्न उठाए । “यी विषयमा बोल्नु सरकारको विरोध हो भने मलाई केही भन्नु छैन,” उनले भने ।
सिंहले सरकारअन्तर्गत विभिन्न विश्वविद्यालयमा नेतृत्व नियुक्ति भए पनि मधेशी समुदायको प्रतिनिधित्व पर्याप्त नभएको दाबी गरे । राजर्षि जनक विश्वविद्यालयमा गुल्मीका व्यक्तिलाई रेक्टर बनाइएको उल्लेख गर्दै उनले विश्वविद्यालयको नेतृत्वमा मधेशीलाई पनि अवसर दिनुपर्ने बताए ।
राजदूत नियुक्तिको विषयमा पनि उनले असन्तुष्टि व्यक्त गरे । भारत र चीनजस्ता महत्वपूर्ण मुलुकमा मधेशीलाई प्रतिनिधित्व गराउनुपर्नेमा श्रीलंका र इजरायलका लागि मधेशीलाई सिफारिस गरिएको भन्दै उनले प्रश्न उठाए ।
“मधेशीलाई भोट बैंकका रूपमा मात्रै प्रयोग नगरियोस् । म भोट दिन्छु, ट्याक्स दिन्छु र सहभागिता पनि चाहन्छु,” सिंहले भने ।
उनले नेपाल–भारत सम्बन्ध अहिले इतिहासकै खराब अवस्थामा रहेको आफ्नो बुझाइ रहेको बताए । चीनसँगको सम्बन्ध पनि अपेक्षाअनुसार अघि बढ्न नसकेको उनको दाबी थियो ।
सिंहले आफू बालेन नेतृत्वको सरकारको विरोधमा नभई समान अधिकारका लागि बोलिरहेको स्पष्ट पारे । समान अधिकार र सहभागिता सुनिश्चित भए मात्रै सरकार बलियो हुने उनको भनाइ थियो ।
यसैबीच सिंहले छठ पर्वको पारनका दिनदेखि मेची–महाकाली पैदल यात्रा सुरु गर्ने घोषणा गरेका छन् । झापाको भद्रपुरबाट यात्रा सुरु गरी माता सीताको दर्शन गर्दै मेचीदेखि महाकालीसम्म पुग्ने उनले बताए । समाजलाई जोड्ने तथा एकता र समृद्धिको बाटो अघि बढाउने उद्देश्यले यात्रा गर्न लागेको सिंहले जानकारी दिए ।


