सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–८ जोगिनियाँबाट हराएका दुई बालिकालाई प्रहरीले भारतको नयाँ दिल्लीबाट सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ ।
जोगिनियाँ टोलका १६ वर्षीया अनिसा कुमारी यादव र सोही उमेरकी बबिता कुमारी गोठिया हराएको भन्दै परिवारजनले गत भदौ ११ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा खोजतलासका लागि निवेदन दिएका थिए ।
निवेदन प्राप्त भएपछि प्रहरीले दुवै बालिकाको खोजतलास सुरु गरेको थियो । खोजीका क्रममा उनीहरू भारतको नयाँ दिल्लीमा रहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले नयाँ दिल्लीस्थित ‘किङ इन्डिया’ संस्थासँग समन्वय गरेको थियो ।
संस्थाका निर्देशक नवीन जोशीसँग आवश्यक समन्वय गरी दुवै बालिकालाई सकुशल नेपाल ल्याएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।
प्रहरी कार्यालयमा ल्याइएका दुवै बालिकालाई आवश्यक प्रक्रिया पूरा गरी आइतबार साँझ परिवारजनको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले हराएका बालबालिकाको खोजतलास तथा उद्धारका लागि सम्बन्धित निकाय र संस्थासँग समन्वय गर्दै आएको जनाएको छ ।


