दश दिनदेखि बेपत्ता सात वर्षीय बालकको शव धान खेतमा फेला


जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका–७ देवडिहाबाट दश दिनअघि बेपत्ता भएका सात वर्षीय बालक साकेत झाको शव फेला परेको छ ।

विजयादशमीकै दिन गत कार्तिक ४ गते घरबाट निस्किएपछि बेपत्ता भएका स्थानीय अजय झाका छोरा साकेतको शव शनिबार फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार बालक बेपत्ता भएको स्थानबाट करिब दुई किलोमिटर उत्तरतर्फ धान खेतमा शव फेला परेको हो ।

साकेत घरबाट निस्किएपछि परिवारजन र प्रहरीले उनको खोजी तीव्र पारेका थिए । खोजीका क्रममा आसपासका गाउँबस्ती, पोखरी, झाडी तथा सम्भावित स्थानहरूमा समेत अनुसन्धान गरिएको थियो । तर, दश दिनसम्म उनको अवस्था पत्ता लाग्न सकेको थिएन ।

लामो खोजीपछि धान खेतमा शव फेला परेपछि प्रहरीले घटनास्थलको अनुसन्धान अघि बढाएको छ । बालकको मृत्यु कसरी भयो र घटनामा कुनै आपराधिक संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनाको विस्तृत विवरण तथा मृत्युको कारण खुल्न बाँकी छ ।

दशैँको दिनदेखि बेपत्ता भएका बालकको शव फेला परेपछि देवडिहा गाउँ शोकमा डुबेको छ । आनन्द र उत्साहका साथ मनाइने पर्वकै दिनदेखि बेपत्ता बालकको दुःखद अन्त्यले स्थानीयवासी स्तब्ध भएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार