जनकपुरधाम । सञ्चारमाध्यमका कार्यालयमै प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाको विरोधमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा पत्रकारहरूले प्रदर्शन गरेका छन् ।
नेपाल प्रहरीले शुक्रबार विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारमाथि गरेको धरपकडको विरोधमा नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा शनिबार प्रदर्शन गरिएको हो ।
प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा सुनिश्चितता तथा सञ्चारमाध्यममाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै पत्रकारहरू सडकमा उत्रिएका हुन् ।
प्रदर्शनमा सहभागी पत्रकारहरूले स्वतन्त्र पत्रकारितामाथि राज्यका निकायबाटै हस्तक्षेप हुनु लोकतान्त्रिक व्यवस्थामाथिको गम्भीर चुनौती भएको बताएका छन् । उनीहरूले सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गर्नुले प्रेस स्वतन्त्रता र नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाएको बताएका थिए ।
पत्रकारहरूले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले सञ्चारमाध्यम र पत्रकारलाई कुनै पनि दबाब, त्रास तथा हस्तक्षेपबिना काम गर्ने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
त्यस्तै, पत्रकारमाथि भएको धरपकडको निष्पक्ष छानबिन गरी घटनामा संलग्न प्रहरी तथा जिम्मेवार अधिकारीमाथि आवश्यक कारबाही गर्न उनीहरूले माग गरेका छन् ।
प्रदर्शनमा जनकपुरधामका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो । पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पेसागत सुरक्षाका लागि एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिएका छन् ।


