काठमाडौँ, २ चैत । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । सो बैठकबाट एक जना समानुपातिक सांसद छान्ने निर्णय समेत गरिने जनाइएको छ ।
जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले दिएको जानकारी अनुसार शुक्रबार हुने उपराष्ट्रपति निर्वाचन र रिक्त रहेको एक समानुपातिक सांसद सिट पूर्ति गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभामा समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि जसपा नेपालको एक सिट रिक्त नै छ ।
मुस्लिम क्लस्टरको पहिलो नम्बरमा नाम भएकी सांसद रहमानको १३ फागुनमा निधन भएको थियो ।
पार्टीबाट मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारीको नाम भएकाले उनकै विषयमा बैठकबाट निर्णय हुनसक्ने उनको भनाई छ ।
बैठकमा शुक्रबार हुने उपराष्ट्रपति निर्वाचन सम्बन्धीसमेत छलफल हुने छ । सत्ता गठबन्धनको साझा उम्मेदवार जसपाका रामसहाय प्रसाद यादव र नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य उपराष्ट्रपति पदको उम्मेदवार रहेकी छन् ।
सत्ता गठबन्धनबाटै जनमत पार्टीकी ममता झा पनि उम्मेदवार भएकाले कुनै एकजना उम्मेदवार मात्र कायम गर्ने विषयमा गठबन्धनभित्र छलफल जारी नै रहेको छ ।
बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक आज फेरि बैठक बस्दैछ ।


