सिरहा । नेपाली कांग्रेस सिरहाका ७ जना नेताहरूलाई पार्टीबाट एक वर्षका लागि निष्कासन गरिएको छ ।
केन्द्रीय अनुशासन समितिले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा सिरहाका सात जना नेता–कार्यकर्तालाई एक वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
३१ भदौमा बसेको केन्द्रीय अनुशासन समिति बैठकले उनीहरूमाथि कारबाही गर्ने निर्णय गरेको हो ।
कारबाहीमा पर्नेमा औरही गाउँपालिका–५ का शुभाषकुमार दास, औरही गाउँपालिका–३ का महादेव यादव, सुखीपुर नगरपालिका–६ का क्षेत्रीय सदस्य शत्रुध्नप्रसाद यादव, धनगढीमाई नगरपालिका–१० का जिल्ला सदस्य निलकुमार राउत, गोलबजार नगरपालिका सभापति राजदेव साह(लालबाबु), गोलबजार नगरपालिका–९ का सभापति प्रेमशरण यादव र विष्णुपुर गाउँपालिका–५ का प्रदेश अधिवेशन प्रतिनिधि मुरली रायमाझी रहेका छन् ।
कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) को धारा ३४ (८) (घ) बमोजिम उनीहरूलाई एक वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएको उल्लेख छ ।


