काठमाडौं, २६ माघ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगमा क्लबहरुले अनुबन्ध गर्न पाउने विदेशी खेलाडीको संख्या बढाएको छ ।
यसअघि चारजना विदेशी राख्न पाउनेमा अब क्लबहरुले पाँचजना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।
तर, विदेशी खेलाडीको मापदण्ड परिवर्तन गरिएको छ । बुधबार एन्फाको लिग कमिटी र ‘ए’ डिभिजन क्लबबीचको छलफलपछि क्लबले पाँचजनासम्म विदेशी अनुबन्ध गर्न पाउने र सुरुवाती ११ मा ४ जनामात्र खेलाउन पाउने व्यवस्था गर्न लागिएको हो ।
पाँच विदेशीमध्ये एकजना एसियाली र एकजना दक्षिण एसियाली खेलाडी हुनैपर्ने व्यवस्था छ ।
‘ए’ डिभिजन लिग फागुन १९ गतेदेखि सुरु हुँदैछ । लिगको पहिलो खेल ललितपुरे क्लबहरु फ्रेण्ड्स र खुमलटार एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
एन्फाले चैत ४ गतेसम्म सुरुवाती पाँच चरणको मात्र खेलतालिका सार्वजनिक गरेको छ ।


