सामुदायिक विद्यालयलाई अनिवार्य रूपमा सामाजिक परीक्षण गराई प्रतिवेदन पेश गर्न निर्देशन


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयहरूलाई अनिवार्य रूपमा सामाजिक परीक्षण गराई प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले सामाजिक परीक्षण नगराएको भन्ने गुनासो आएको भन्दै सबै सामुदायिक विद्यालयलाई सामाजिक परीक्षण गर्न आग्रह गरेको हो।

पत्रमा शिक्षा नियमावली–२०५९ को नियम १७१(क) तथा विद्यालय सामाजिक परीक्षण मापदण्ड–२०७८ बमोजिम प्रत्येक विद्यालयले सामाजिक परीक्षण गराई त्यसको प्रतिवेदन उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखामा अनिवार्य रूपमा पेश गर्नुपर्ने उल्लेख गरिएको छ।

उपमहानगरपालिकाले सामाजिक परीक्षणमार्फत विद्यालयका गतिविधि, व्यवस्थापन तथा शैक्षिक कार्यसम्पादनमा पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्नेमा जोड दिएको छ।

शिक्षा, युवा तथा खेलकुद विकास शाखाका शाखा प्रमुख अन्जु पाण्डेयद्वारा हस्ताक्षरित पत्रमा नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई समेत बोधार्थ पठाइएको छ।

उपमहानगरपालिकाको यस निर्देशनसँगै जनकपुरधाम क्षेत्रका सामुदायिक विद्यालयहरूले सामाजिक परीक्षण सम्पन्न गरी त्यसको प्रतिवेदन सम्बन्धित शाखामा बुझाउनुपर्ने भएको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार