जनकपुरधाम । क्रिकेटको मैदानमा ब्याटरलाई रन बनाउन रोक्ने ‘डट बल’ अब मधेशका ग्रामीण क्षेत्रका किशोरी तथा महिलाको महिनावारी स्वच्छतामा सहयोग पुर्याउने माध्यम बन्ने भएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सको समर्थक समूह ‘बोल्ट्स बटालियन’ले महिनावारी स्वच्छता र सचेतना अभिवृद्धिका लागि ‘डट फर डिग्निटी’ अभियान सुरु गरेको छ । क्रिकेटलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्रै सीमित नराखी सामाजिक उत्तरदायित्व र परिवर्तनसँग जोड्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो ।
अभियानअन्तर्गत जनकपुर बोल्ट्सका बलरले खेलका क्रममा फाल्ने प्रत्येक डट बल बराबर मधेश प्रदेशका ग्रामीण क्षेत्रमा एक थान सेनेटरी प्याड वितरण गरिनेछ । अर्थात् मैदानमा ब्याटरले रन बनाउन नसकेको प्रत्येक बल ग्रामीण क्षेत्रका कुनै किशोरी वा महिलाको महिनावारी स्वच्छतामा सहयोग पुर्याउने माध्यम बन्नेछ ।
बोल्ट्स बटालियनका प्रतिनिधि जयकृष्ण महतोका अनुसार प्याड वितरणसँगै ग्रामीण क्षेत्रमा महिनावारीसम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिनेछ । महिनावारीका बेला अपनाउनुपर्ने सरसफाइ, सेनेटरी प्याडको उचित प्रयोग र प्रयोगपछि सुरक्षित व्यवस्थापनबारे जानकारी दिइने उनले बताए ।
उनका अनुसार क्रिकेटप्रति युवापुस्ताको आकर्षण र जनकपुर बोल्ट्सप्रतिको समर्थकको उत्साहलाई सामाजिक अभियानसँग जोडेर सकारात्मक परिवर्तनको सन्देश दिन खोजिएको हो । खेलको प्रत्येक डट बललाई सामाजिक उत्तरदायित्वसँग जोड्दा खेलाडी, समर्थक र समुदायबीच सामाजिक अभियानप्रतिको सहभागिता बढ्ने विश्वास गरिएको छ ।
महिनावारीलाई लाज होइन, स्वास्थ्यको विषय बनाउने प्रयास
समाजमा अझै पनि महिनावारी र सेनेटरी प्याडबारे खुलेर कुरा गर्न संकोच मान्ने प्रवृत्ति कायम छ । कतिपय किशोरी तथा महिलाले परिवार र समुदायमा समेत महिनावारीका विषयमा सहज रूपमा कुरा राख्न नसक्ने अवस्था छ । प्याड प्रयोग गर्न वा बोकेर हिँड्नसमेत लाज मान्ने सामाजिक सोचले महिनावारी स्वच्छतासम्बन्धी समस्या थप जटिल बनाउँदै आएको छ ।
बोल्ट्स बटालियनका अशोक अधिकारीका अनुसार महिनावारी कुनै लज्जा वा लुकाउनुपर्ने विषय नभई महिलाको जीवनसँग जोडिएको स्वाभाविक जैविक प्रक्रिया हो । यसलाई सम्मान, स्वास्थ्य र स्वच्छतासँग जोडेर समाजमा सकारात्मक सोच विकास गराउनु अभियानको मुख्य उद्देश्य रहेको उनले बताए ।
उनले महिनावारीसम्बन्धी सामाजिक संकोच र भ्रम हटाउन किशोरी तथा महिलासँगै पुरुष र परिवारका सदस्यलाई पनि सचेत बनाउनुपर्ने आवश्यकता औँल्याए । प्याड वितरणले तत्कालीन आवश्यकतामा सहयोग पुर्याउने भए पनि सचेतना कार्यक्रमले दीर्घकालीन रूपमा सामाजिक सोच र व्यवहार परिवर्तन गर्न मद्दत गर्ने आयोजकको विश्वास छ ।
सरसफाइ अभियानपछि महिनावारी स्वच्छतातर्फ समर्थक समूह
बोल्ट्स बटालियनले यसअघि पनि खेलकुदलाई सामाजिक जिम्मेवारीसँग जोड्दै आएको छ । एनपीएलको पहिलो र दोस्रो सिजनमा समूहले ‘आफ्नो खेलमैदान फोहोर नगरौँ, भए आफैँ सफा गरौँ’ भन्ने नारासहित रंगशाला सरसफाइ अभियान सञ्चालन गरेको थियो ।
खेल हेर्न आउने दर्शकलाई आफूले उत्पादन गरेको फोहोर आफैँ व्यवस्थापन गर्न प्रेरित गर्दै रंगशालाको वातावरण स्वच्छ राख्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको थियो ।
यस वर्ष सरसफाइ अभियानलाई निरन्तरता दिँदै समूहले महिनावारी स्वच्छतासम्बन्धी नयाँ अभियान थपेको हो । यसले खेलकुदका समर्थक समूह मनोरञ्जन र आफ्नो टोलीको समर्थनमा मात्र सीमित नभई सामाजिक सचेतना, वातावरण संरक्षण र समुदायको हितमा समेत सक्रिय हुन सक्छन् भन्ने सन्देश दिन खोजेको छ ।
मधेशका ग्रामीण क्षेत्रमा महिनावारी स्वच्छतासम्बन्धी सामग्रीको सहज उपलब्धता र पर्याप्त जानकारीको अभाव अझै चुनौतीका रूपमा रहेको छ । यस्तो अवस्थामा क्रिकेटको लोकप्रियतालाई सामाजिक अभियानसँग जोड्ने ‘डट फर डिग्निटी’ पहलले महिनावारीबारे खुला संवादको वातावरण बनाउन र किशोरी तथा महिलाको स्वच्छतामा सहयोग पुर्याउन सक्ने अपेक्षा गरिएको छ ।
जनकपुर बोल्ट्सको मैदानमा बलरले फाल्ने प्रत्येक डट बल अब खेलको तथ्यांकमा मात्र सीमित रहने छैन, त्यसले ग्रामीण समुदायमा एउटा सामाजिक सन्देश पनि पुर्याउनेछ । क्रिकेटको एउटा डट बल, ग्रामीण महिलाका लागि स्वच्छताको एउटा अवसर भन्ने अवधारणासहित सुरु गरिएको यो अभियानले खेल र सामाजिक परिवर्तनबीच नयाँ सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको छ ।


