चक्रवात ‘अर्नब’ले भारतमा तीन जनाको मृत्यु, नेपालमा पनि वर्षा र हिमपातको सम्भावना


जनकपुरधाम । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण तीन जनाको मृत्यु भएको छ भने ३० वटा घरमा क्षति पुगेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार चक्रवातबाट राज्यका ७१४ गाउँ प्रभावित भएका छन् ।

२८ अक्टोबर २०२६ को बिहान आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको चक्रवातले तीव्र हावाहुरी र भारी वर्षा निम्त्याएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवात बिहान करिब १:२० बजे काकीनाडानजिकै जमिनमा प्रवेश गर्न सुरु गरेको थियो । उक्त क्षेत्र यानमको दक्षिणतर्फ तथा बापटला र विशाखापट्टनमको बीचमा पर्छ ।

चक्रवातका कारण आन्ध्र प्रदेशका विभिन्न जिल्लामा घरका छाना उड्नुका साथै रुख र बिजुलीका खम्बा ढलेका छन् । तटीय क्षेत्रका होचा भूभाग डुबानमा परेका छन् । ओडिशाका दक्षिणी जिल्लाहरूमा समेत तीव्र हावाहुरी र भारी वर्षा भइरहेको बताइएको छ ।

प्रभावित क्षेत्रमा धानबाली डुबानमा परेका छन् भने १६७ गाउँमा बाढीको चेतावनी जारी गरिएको छ । चक्रवातका कारण जनजीवन प्रभावित हुनुका साथै कृषि क्षेत्रमा समेत क्षति पुगेको छ ।

चक्रवातको निरन्तर हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो भने हावाको झोक्का प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको बताइएको छ । जमिनमा प्रवेश गरेपछि चक्रवातको तीव्रता घट्दै गएसँगै यसलाई ‘अत्यन्त भीषण चक्रवाती आँधी’बाट ‘भीषण चक्रवाती आँधी’को श्रेणीमा झारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिउँसोसम्म थप कमजोर हुँदै साँझसम्म गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुने अनुमान गरिएको छ ।

नेपालमा पनि वर्षा र हिमपातको जोखिम

भारतमा चक्रवातको प्रभाव देखिएसँगै नेपालमा पनि मौसम बदली हुने र वर्षा तथा हिमपातको सम्भावना बढेको छ । चक्रवातको बाहिरी घेराबाट आउने जलवाष्पयुक्त बादल नेपालको माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी वायु प्रणालीसँग मिसिँदा वर्षा र हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा अक्टोबर २९ अर्थात् बिहीबार रातिदेखि देखिन सक्नेछ । अक्टोबर ३० र ३१ अर्थात् शुक्रबार र शनिबार देशका विभिन्न भागमा वर्षा, चट्याङ र तीव्र हावाहुरीको सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुन सक्ने तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत औँल्याइएको छ ।

मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । उच्च हिमाली क्षेत्रमा अनावश्यक यात्रा नगर्न, नदी तथा खोलाको किनार र बाढीको जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन तथा मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न आग्रह गरिएको छ ।

चक्रवातको प्रभावले हुने वर्षा र हिमपातका कारण जनजीवन, यातायात, कृषि तथा पर्वतीय पर्यटन प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई पूर्वतयारी अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार