महोत्तरी । छठ पर्व नजिकिएसँगै महोत्तरीका डोम समुदायलाई बाँसका सामग्री बनाउन भ्याइनभ्याइ भएको छ। छठमा प्रयोग हुने डालो, नाङ्लो, सुपली र दुनाटपरीको माग बढेपछि समुदायका सदस्य बिहानदेखि बेलुकासम्म सामग्री निर्माण र बिक्रीमा व्यस्त भएका छन्।
छठ पर्वमा सूर्यदेव र छठीमातालाई अर्घ्य अर्पण गर्न बाँस तथा बेतका चोयाबाट बनेका सामग्री प्रयोग गर्ने परम्परा छ। यही सांस्कृतिक परम्पराले डोम समुदायको पुस्तौँदेखि चल्दै आएको पुर्ख्यौली पेसालाई चलायमान बनाएको छ। पर्वलाई लक्षित गर्दै असोज महिनादेखि नै सामग्री बनाउन थालेका उनीहरू अहिले बजारको माग पूरा गर्न व्यस्त छन्।
औरही नगरपालिका–१ का ५० वर्षीय इन्दल मलिकले छठलाई दुःख बिर्सेर मिठोमसिनो खाने र राम्रो लाउने पर्वका रूपमा लिने गरेको बताए। छठका बेला बाँसका सामग्रीको बिक्री बढ्ने भएकाले परिवारको आम्दानीसमेत बढ्ने उनको भनाइ छ।
गौशाला नगरपालिका–५ की ६० वर्षीया सबिता मलिकले कात्तिक महिना सुरु भएसँगै दिनभरि बाँसका सामग्री बनाउनमै समय बित्ने गरेको बताइन्। छठका लागि आवश्यक सुपली र डालोका अतिरिक्त विवाहमा प्रयोग हुने सामग्रीसमेत बनाएर गाउँगाउँमा बिक्री गर्ने गरिएको उनले जानकारी दिइन्।
“कात्तिक लागेपछि बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र दुनाटपरी बनाउन व्यस्त हुन्छौँ। बजारमा बिक्री पनि राम्रो हुन्छ,” उनले भनिन्।
औरही नगरपालिका–६, बैरियाका राजेन्द्र मलिकका अनुसार बाँसका सामग्री बिक्रीबाट प्राप्त आम्दानीले परिवारको वर्षभरको खर्च जुटाउन सहयोग पुग्छ। सम्सी गाउँपालिकाका राजेश मलिकले छठको समयमा परिवारका सबै सदस्य मिलेर काम गर्दा आम्दानी पनि उल्लेख्य हुने बताए।
उनका अनुसार छठको मौसममा सामग्री निर्माण र बिक्रीबाट प्रतिव्यक्ति ४० देखि ५० हजार रुपैयाँसम्म तथा परिवारका हिसाबले दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ।
यतिबेला जिल्लाका अधिकांश गाउँमा डोम समुदायका घरआँगन बाँस र बेतले भरिएका छन्। परिवारका बालबालिकादेखि ज्येष्ठ सदस्यसम्म चोया चिर्ने, बुन्ने र विभिन्न आकारका सामग्री बनाउने काममा जुटेका छन्। छठ मनाउनेको सङ्ख्या बढ्दै जाँदा बाँसका सामग्रीको माग पनि बढेको स्थानीयवासी बताउँछन्। मागअनुसार उत्पादन गर्न नसक्दा कतिपय परिवारलाई समयमै सामग्री उपलब्ध गराउनसमेत कठिन भइरहेको छ।
अन्य समयमा पुर्ख्यौली पेसाबाट घरखर्च चलाउन कठिन हुने डोम समुदायका लागि छठ पर्वको मौसम आम्दानी बढाउने महत्त्वपूर्ण अवसर बनेको छ। पर्वका बेला बढ्ने मागले उनीहरूको जीविकोपार्जनमा राहत पुर्याउनुका साथै परम्परागत सीप र हस्तकलालाई निरन्तरता दिनसमेत सहयोग गरेको छ।
यद्यपि, मौसमी मागमा निर्भर यो पेसालाई वर्षभरि आम्दानीको भरपर्दो माध्यम बनाउन बजारको विस्तार, उचित मूल्य र उत्पादनका लागि आवश्यक स्रोतसाधनमा सहज पहुँच महत्त्वपूर्ण देखिन्छ। छठको सांस्कृतिक महत्त्वसँग जोडिएको डोम समुदायको यो परम्परागत सीपले एकातिर पर्वको मौलिकता जोगाएको छ भने अर्कोतिर समुदायको आर्थिक जीवनलाई समेत टेवा पुर्याएको छ।


