महोत्तरी । नेपाली सेनाले सञ्चारकर्मीलाई रक्षा तथा सुरक्षा क्षेत्रका विषयमा जानकारी गराउने उद्देश्यले सञ्चालन गरेको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
महोत्तरीको बर्दिबासस्थित मध्य पूर्वी पृतना मुख्यालयमा असोज २० गतेदेखि सञ्चालन भएको कार्यक्रम शुक्रबार असोज २३ गते सम्पन्न भएको नेपाली सेनाले जनाएको छ ।
कार्यक्रमको समापन समारोहमा मध्य पूर्वी पृतनाका पृतनापति उपरथी भुवन खत्रीले सहभागी २१ जना सञ्चारकर्मीलाई प्रमाणपत्र वितरण गरेका थिए ।
सोही अवसरमा मध्य पूर्वी पृतना मुख्यालयअन्तर्गतका जिल्लामा लामो समयदेखि नेपाली सेनासम्बन्धी रेडियो कार्यक्रम प्रसारण गर्दै आएका नौवटा एफएम रेडियो स्टेसनलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
चारदिने अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीलाई नेपाली सेनाका विविध गतिविधि तथा विषयबारे जानकारी गराइएको थियो । साथै, विपद् प्रतिकार्य र समसामयिक विषयमा अन्तरक्रियासमेत गरिएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार यस्ता कार्यक्रमले सञ्चारकर्मीलाई रक्षा तथा सुरक्षा क्षेत्रका विषयमा स्पष्ट जानकारी प्राप्त गर्न र सेनासम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषण गर्न सहज हुने विश्वास लिइएको छ ।
कार्यक्रममार्फत सञ्चारकर्मी र नेपाली सेनाबीच विषयगत बुझाइ अभिवृद्धि गर्नुका साथै रक्षा तथा सुरक्षा क्षेत्रसम्बन्धी समाचारलाई थप तथ्यपरक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


