भाटभटेनी जनकपुरमा म्याद गुज्रिएको चिप्स बिक्री भएको उपभोक्ताको गुनासो


जनकपुरधाम । जनकपुरधामस्थित भाटभटेनी सुपरमार्केटबाट म्याद गुज्रिएको खाद्यवस्तु बिक्री गरिएको भन्दै उपभोक्ता नेहा कर्णले गुनासो गरेकी छन् ।

कर्णका अनुसार उनले भाटभटेनी सुपरमार्केटबाट खरिद गरेको आलु चिप्सको म्याद सात दिनअघि नै सकिएको पाइएको हो । म्याद गुज्रिएको अवस्थामा समेत उक्त खाद्यवस्तु बिक्रीका लागि राखिएको भन्दै उनले सुपरमार्केटको खाद्यवस्तु व्यवस्थापन तथा उपभोक्ता सुरक्षाप्रति प्रश्न उठाएकी छन् ।

कर्णले यस्तो घटना पहिलोपटक नभएको दाबी गर्दै म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण रोक्न सुपरमार्केटले प्रभावकारी व्यवस्था गर्नुपर्ने बताएकी छन् । दैनिक ठूलो संख्यामा उपभोक्ता आउने ठूला व्यापारिक प्रतिष्ठानमा खाद्यवस्तुको म्याद र लेबलसम्बन्धी विवरणमा पर्याप्त ध्यान नदिँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने उनको भनाइ छ ।

आफूले सुपरमार्केटको सम्पर्क नम्बर ०४१–५९१०१२ मा फोन गरी खरिद गरेको वस्तुको रकम फिर्ता गर्न आग्रह गर्दा सम्बन्धित कर्मचारीले चिप्स फिर्ता ल्याउन भनेको कर्णले बताएकी छन् । तर, सामान फिर्ता गर्न पुनः सुपरमार्केटसम्म पुग्दा लाग्ने पेट्रोल खर्चबारे कुरा उठाउँदा कर्मचारीले ‘त्यो तपाईंको समस्या हो, मेरो होइन’ भन्ने आशयको जवाफ दिएको उनको गुनासो छ ।

म्याद गुज्रिएको वस्तु बिक्री भएपछि रकम फिर्ता लिन पुनः उपभोक्तालाई नै खर्च र झन्झट बेहोर्न लगाउनु तथा गुनासो सम्बोधनका क्रममा असम्मानजनक व्यवहार गरिनु गैरजिम्मेवार र अव्यावसायिक भएको कर्णको आरोप छ ।

उनले बजार अनुगमनलाई प्रभावकारी बनाउन तथा भाटभटेनीलगायत ठूला व्यापारिक प्रतिष्ठानमा म्याद गुज्रिएका खाद्यवस्तुको बिक्री वितरण रोक्न नियमित अनुगमन गर्न सम्बन्धित निकायसँग आग्रह गरेकी छन् ।

कर्णले आफ्नो गुनासो सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधाम उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय धनुषालगायत निकायको ध्यानाकर्षण गराएकी छन् ।

म्याद गुज्रिएका खाद्यवस्तुको बिक्री उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले घटनाबारे आवश्यक छानबिन गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्नुपर्ने उनको माग छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार