जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव फिलिपिन्सको मनिला जाने भएपछि भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीरलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
मुख्यमन्त्री यादवले भौतिक पूर्वाधार विकासमन्त्री समीरलाई पत्र पठाउँदै आफू विदेशमा रहने अवधिका लागि कार्यवाहक मुख्यमन्त्री तोकेको जानकारी गराएका हुन्।
एसियाली विकास बैंकको आयोजनामा फिलिपिन्सको मनिलामा सेप्टेम्बर १५ देखि १६ सम्म आयोजना हुने कार्यक्रममा सहभागी हुन आफू फिलिपिन्स जान लागेको पत्रमा उल्लेख छ।
मुख्यमन्त्री यादवले आफू फर्केर नआएसम्मका लागि प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०८० को नियम १४ को उपनियम (३) बमोजिम समीरलाई कार्यवाहक मुख्यमन्त्री तोकेको जनाएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भौतिक पूर्वाधार विकासमन्त्री समीरलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकिएको सम्बन्धमा प्रदेश प्रमुखको कार्यालयलाई समेत जानकारी गराएको छ।



