काठमाडौं । मूल्यवृद्धि नियन्त्रण तथा खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिको माग गर्दै अग्रगामी युवा मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। मोर्चाले आगामी असोज ६ गते नेपाल आयल निगमको काठमाडौंस्थित केन्द्रीय कार्यालय घेराउ गर्ने जनाएको छ।
आम जनता पार्टी (आजपा)को काठमाडौंस्थित कार्यालयमा सोमबार बसेको मोर्चाको बैठकले निगमको केन्द्रीय कार्यालय घेराउ गर्ने निर्णय गरेको हो। बैठकमा आजपा अध्यक्ष प्रभु साह, सहअध्यक्ष तिलक थापामगर र प्रवक्ता सुभाष साहलगायतको सहभागिता थियो।
मोर्चाले लामो समयदेखि खाना पकाउने एलपी ग्यासलगायत दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या देखिए पनि बजार अनुगमन प्रभावकारी हुन नसकेको आरोप लगाएको छ। बजारमा देखिएको मूल्यवृद्धि, कालोबजारी तथा अत्यावश्यक वस्तुको अभाव नियन्त्रण गरी सर्वसुलभ आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ।
‘ग्यास आपूर्तिमा देखिएका समस्या समाधान गर्न तथा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि घटाउन’ असोज ६ गते आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्ने निर्णय गरिएको मोर्चाले जनाएको छ।
मोर्चाले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारसमक्ष मूल्यवृद्धि नियन्त्रण, ग्यास तथा अत्यावश्यक वस्तुको सहज आपूर्ति, विपद् प्रभावितको उद्धार तथा पुनस्र्थापना, भ्रष्टाचार तथा प्रशासनिक ढिलासुस्ती अन्त्य र वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणलगायत पाँचबुँदे माग अघि सारेको छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै मोर्चाले तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा उद्धार तथा राहत कार्य प्रभावकारी हुन नसकेको आरोप लगाएको छ। विपद् प्रभावितलाई तत्काल उद्धार, उचित राहत तथा स्थायी पुनस्र्थापनाको व्यवस्था गर्न उसले माग गरेको छ।
त्यस्तै, संस्थागत हुँदै गएको भ्रष्टाचार र प्रशासनिक ढिलासुस्ती अन्त्य गरी पारदर्शी तथा प्रभावकारी सुशासन कायम गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। स्वदेशमै रोजगारीको पर्याप्त अवसर सिर्जना गर्न नसक्दा दैनिक ठूलो संख्यामा युवा विदेशिन बाध्य भएको भन्दै वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा बिचौलियाको सञ्जाल नियन्त्रण गर्न पनि माग गरिएको छ।
मोर्चाले आफ्ना माग तत्काल सम्बोधन नगरिए देशव्यापी रूपमा थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ। संयुक्त विज्ञप्तिमा समाजवादी युवा संघ नेपाल, समाजवादी युवा संगठन, विद्यार्थी जनमत संघ, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल, आईटी आर्मी, आम विद्यार्थी मोर्चा, समाजवादी विद्यार्थी युनियन नेपाल, कमन जेनजी नेपाल र युवा संगठन (प्रलोपा)का प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।


