जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरमा एक महिलाको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनका श्रीमान्लाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भदौ २१ गते राति करिब १०ः५० बजे मिथिला नगरपालिका–७ ढल्केबरका अन्दाजी ३४ वर्षीय श्रवण महतोकी श्रीमती अन्दाजी २७ वर्षीया पुनिता देवी महतो आफ्नै घरको प्यासेजमा मृत अवस्थामा फेला परेकी थिइन्।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय ढल्केबरबाट प्रहरी निरीक्षक उदय शम्शेर जबराको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको घाँटीमा कसिएको जस्तो डाम देखिएपछि प्रहरीले मृत्यु शंकास्पद रहेको जनाएको छ।
मृत्युको कारणबारे थप अनुसन्धान गर्न प्रहरीले मृतकका श्रीमान् श्रवण महतोलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार महतोलाई ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको हो।
प्रहरीले घटनाको वास्तविक कारण तथा मृत्युको प्रकृति खुलाउन थप अनुसन्धान गरिरहेको जनाएको छ।


