२४ घण्टामा सात घण्टा मात्रै विद्युत् आपूर्ति भएको भन्दै नगराइनमा प्राधिकरण कार्यालयमा तालाबन्दी


जनकपुरधाम । २४ घण्टामा करिब सात घण्टा मात्रै विद्युत् आपूर्ति हुने गरेको भन्दै नगराइन नगरपालिकाका युवाहरुको एक समूहले नेपाल विद्युत् प्राधिकरणको नगराइन शाखा कार्यालयमा तालाबन्दी गरेका छन्।

विद्युत् आपूर्ति नियमित नभएको तथा लामो समयसम्म विद्युत् कटौती हुँदा सर्वसाधारण, व्यवसायी तथा विद्यार्थीसमेत प्रभावित भएको भन्दै युवाहरुले कार्यालयमा तालाबन्दी गरेका हुन्।

आन्दोलनमा सहभागी युवाहरुले विद्युत् सेवा नियमित र भरपर्दो बनाउन प्राधिकरणसँग माग गरेका छन्। उनीहरुले पटक–पटक विद्युत् कटौती हुँदा नगरवासीले समस्या भोग्दै आए पनि सम्बन्धित निकायले प्रभावकारी पहल नगरेको गुनासो गरेका छन्।

आन्दोलनका युवा अगुवा सिद्धार्थ चौधरीका अनुसार प्राधिकरणको नगराइन शाखाका प्रमुखले सोमबार बिहान ११ बजे वार्ताका लागि समय दिएका छन्। आन्दोलनरत पक्ष र प्राधिकरणबीच वार्ता भएपछि विद्युत् आपूर्ति सुधारका विषयमा आवश्यक निर्णय हुने अपेक्षा गरिएको उनले बताए।

विद्युत् कटौतीको समस्या समाधान नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत युवाहरुले दिएका छन्।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार