राजविराज उच्च अदालत बारको अध्यक्षमा सिंह निर्वाचित


जनकपुरधाम । नेपाल बार एशोसिएशनअन्तर्गत राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलरामप्रसाद सिंह फराकिलो मतान्तरले निर्वाचित भएका छन्।

आइतबार बिहान सम्पन्न निर्वाचनको मतपरिणामअनुसार सिंहले ११८ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नवीन सिंहले ७१ मत प्राप्त गर्दा अर्का उम्मेदवार देवबहादुर कटुवालले सात मत प्राप्त गरे।

निर्वाचन समितिका संयोजक धर्मेन्द्रकुमार यादवका अनुसार उपाध्यक्षमा विनोदकुमार पाण्डे, सचिवमा पार्वतीकुमारी जोशी थारू र सहसचिवमा अस्मिता थापा निर्वाचित भएका छन्।

कोषाध्यक्ष पदमा उम्मेदवारद्वयको मत बराबर भएपछि गोला प्रथाबाट भोगीलाल यादव निर्वाचित भएका छन्।

सदस्यतर्फ सुरेन्द्रप्रसाद यादव, डा. शिवनारायण यादव, दिलीप यादव, दिनेशकुमार सिंह, सतीशकुमार दत्त, बालकृष्ण कार्की, रामनारायण चौधरी र सन्तोषकुमार चौधरी निर्वाचित भएका छन्।

त्यस्तै, पार्षदतर्फ नारायणप्रसाद साह, डा. देवनारायण यादव, अशोककुमार झा, सुधा देव, श्यामकुमार पोखरेल, बालकृष्ण ढुङ्गाना, कौशलकिशोर दत्त, सत्यनारायण साह र अजयकुमार चौधरी थारू निर्वाचित भएका छन्।

निर्वाचनमा गणतान्त्रिक, लोकतान्त्रिक र प्रगतिशील समूहको संयुक्त प्यानल तथा प्रजातान्त्रिक लयर्स एशोसिएशनको प्यानलबीच प्रतिस्पर्धा भएको थियो। पदाधिकारीसहित अधिकांश सदस्य पदमा संयुक्त प्यानलका उम्मेदवार विजयी भएका छन्।

राजविराज उच्च अदालत बार एशोसिएशनको निर्वाचनमा कुल २१७ मतदाता रहेकामा १९९ मत खसेको थियो। पदाधिकारीतर्फ १९८ मत सदर भएको थियो भने एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ। पार्षद पदमा छ मत र सदस्य पदमा ११ मत बदर भएको थियो।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार