चौरचन पर्वमा धनुषाका दुई स्थानीय तहमा बिदा


जनकपुरधाम । मिथिलाको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व चौरचनको अवसरमा धनुषाका दुई स्थानीय तहले स्थानीय बिदा दिने निर्णय गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका र कमला नगरपालिकाले आगामी सोमबार मनाइने चौरचन पर्वका अवसरमा आफ्नो क्षेत्रभित्र स्थानीय बिदा दिने निर्णय गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकबाट उपमहानगरपालिकाको कार्यालय, मातहतका वडा कार्यालय तथा नगर क्षेत्रभित्रका विद्यालयमा बिदा दिने निर्णय गरेको जनाएको छ । उपमहानगरपालिकाका अनुसार स्वास्थ्य सेवा, दमकल, सरसफाइलगायत अत्यावश्यक सेवाहरू भने बिदाका दिन पनि नियमित सञ्चालन हुनेछन् ।
स्थानीय बिदासम्बन्धी निर्णयबारे उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरी घिमिरेले सूचना जारी गरी सम्बन्धित सबैलाई जानकारी गराएका छन् ।

यसैगरी कमला नगरपालिकाले पनि चौरचन पर्वका अवसरमा कार्यपालिका मातहतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा स्थानीय बिदा दिने निर्णय गरेको जनाएको छ ।

नगरपालिकाका प्रमुख विशेश्वर यादवका अनुसार पालिका क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था तथा मातहतका कार्यालयमा बिदा दिइएको हो ।

मिथिला संस्कृतिमा चौरचन पर्वलाई धार्मिक तथा सांस्कृतिक रूपमा महत्त्वपूर्ण पर्वका रूपमा मनाउने गरिन्छ । यस पर्वमा चन्द्रमाको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्ने परम्परा रहेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार