जनकपुरधाम । महावीर युवा कमिटीले आगामी वडादशैँ–२०८३ लाई सभ्य, भव्य तथा धुमधामका साथ मनाउन विभिन्न १२ वटा उपसमिति गठन गरेको छ।
कमिटीको ६०औँ साधारणसभाले वडादशैँका अवसरमा हुने धार्मिक तथा सांस्कृतिक गतिविधिलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गर्दै संयोजकहरूको जिम्मेवारी तोकेको हो।
साधारणसभाबाट पूजा व्यवस्थापन, सुरक्षा, सरसफाइ, मेला, भजनसन्ध्या लगायतका गतिविधि सञ्चालनका लागि छुट्टाछुट्टै उपसमिति गठन गरिएको कमिटीले जनाएको छ।
गठित उपसमितिअन्तर्गत मूल पूजा संयोजकमा दीपक कुमार साह, ठेहा संयोजकमा बिकेश पञ्जियार, प्रसाद तथा महाप्रसाद संयोजकमा सोनु कुमार साह र रावण वध संयोजकमा आनन्द कुमार साहलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, सुरक्षा समिति संयोजकमा कुन्दन साह, भव्य शृंगार संयोजकमा विकास राई, रमाइलो मेला संयोजकमा रोशन साह, भजनसन्ध्या संयोजकमा बिक्रम साह, गहवर व्यवस्थापन संयोजकमा सुरेन्द्र साह, लाइन व्यवस्थापन संयोजकमा शशि साह, खोइच व्यवस्थापन संयोजकमा किशन साह तथा सरसफाइ संयोजकमा सुनिल राउत चयन भएका छन्।
कमिटीका महासचिव भरत कुमार साहले वडादशैँका धार्मिक तथा सांस्कृतिक गतिविधिलाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न उपसमितिहरू गठन गरिएको बताए।
उनका अनुसार धार्मिक आस्था, परम्परा र सांस्कृतिक मौलिकतालाई कायम राख्दै वडादशैँलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले तयारी अघि बढाइएको हो।


