मधेशमा जलस्रोत व्यवस्थापन र जलवायु अनुकूलनबारे यूएनडीपीसँग छलफल


जनकपुरधाम । मधेश प्रदेशको जलस्रोत व्यवस्थापन तथा जलवायु अनुकूलनका विषयमा प्रदेश नीति तथा योजना आयोग र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) बीच छलफल भएको छ।

मंगलबार जनकपुरधामस्थित प्रदेश नीति तथा योजना आयोगमा आयोगका उपाध्यक्ष राजकुमार सिंहको उपस्थितिमा यूएनडीपीका साझेदारी तथा सञ्चार विश्लेषक तामोई फुजीलगायतको टोलीसँग छलफल गरिएको हो।

छलफलमा मधेश प्रदेशका प्रमुख जलस्रोत, जल क्षेत्रको रणनीतिक व्यवस्थापन, जलस्रोतको नक्साङ्कन, सिँचाइ तथा खानेपानीको अभाव, खडेरीजन्य समस्या, कृषि उत्पादकत्वका पछिल्ला प्रवृत्ति तथा यस क्षेत्रमा देखिएका प्रमुख चुनौतीबारे छलफल भएको उपाध्यक्ष सिंहले जानकारी दिए।

उपाध्यक्ष सिंहले मधेश प्रदेशका वास्तविक समस्या, चुनौती र आवश्यकताको पहिचान गरी विकास साझेदार संस्थासँगको समन्वयमा आगामी कार्यक्रम तथा योजना अघि बढाइने बताए।

उनका अनुसार प्रदेशमा आवश्यक तथ्यांकको अभाव रहेकाले योजना निर्माणका लागि भरपर्दो तथ्यांक संकलनलाई प्राथमिकता दिइएको छ। आवश्यक तथ्यांक उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई पत्राचार गरिएको र ऊर्जा, सिँचाइ तथा खानेपानी तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग छलफल गरी आगामी कार्ययोजना तयार गरिने उनले बताए।

विगतमा विकास साझेदार संस्थाहरूले आफ्नै पहलमा कार्यक्रम सञ्चालन गर्दै आए पनि अब प्रदेश सरकारसँगको समन्वयमा आवश्यकता पहिचान गरी कार्ययोजना र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको सिंहले बताए।

छलफलमा जलवायु अनुकूल प्रविधिको प्रयोग तथा सङ्घीय सरकार, विश्व बैंक, एसियाली विकास बैंक, यूएनडीपीलगायत द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट सञ्चालित र वित्तपोषित प्रमुख परियोजनाबारे समेत छलफल भएको थियो।

मधेश प्रदेशमा जलस्रोतको दिगो तथा प्रभावकारी व्यवस्थापन, जलवायु परिवर्तनका प्रतिकूल प्रभाव न्यूनीकरण र कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न आवश्यक नीति, योजना तथा लगानीका प्राथमिकता निर्धारण गर्न छलफल महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार