जनकपुरधाम । पर्यटन विकास कार्यालय जनकपुरले मिथिला चित्रकलामार्फत धनुषा र महोत्तरीका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको प्रवर्द्धन थालेको छ।
समुदायको मौलिक पहिचान तथा धार्मिक–सांस्कृतिक महत्व झल्काउने उद्देश्यले कार्यालयले विभिन्न सार्वजनिक तथा धार्मिक स्थलमा मिथिला चित्रकला कोर्न लगाएको हो।
कार्यालयका अनुसार मधेश प्रदेशसभा परिसर, धार्मिक तथा ऐतिहासिक स्थल मणिमण्डप, धनुषाधाम, भारतसँग जोडिएका प्रमुख नाका भिट्ठामोड र जटही, मिथिला बिहारी नगरपालिकास्थित कचुरी मठलगायतका स्थानमा भित्तेचित्र निर्माण गरिएको छ।

पर्यटन विकास कार्यालयका इन्जिनियर अमरनाथ यादवका अनुसार मिथिला चित्रकलाले सार्वजनिक तथा धार्मिक स्थललाई आकर्षक बनाउनुका साथै पर्यटकलाई स्थानीय इतिहास, संस्कृति र परम्पराबारे जानकारी गराउन सहयोग पुग्नेछ।
“भित्तेचित्रले स्थानीय कला र कलाकारको प्रवर्द्धनसँगै हस्तकला बजारलाई समेत चलायमान बनाउन मद्दत पुग्नेछ,” यादवले बताए।
मिथिला चित्रकलामार्फत स्थानीय कला, संस्कृति र धार्मिक सम्पदालाई पर्यटकसँग जोड्ने उद्देश्यले कार्यालयले यस कार्यक्रमका लागि ५ लाख रुपैयाँ खर्च गरेको जनाएको छ।

मिथिला चित्रकलामा परम्परागत रूपमा धर्म, प्रकृति, विवाह, जन्म, खेतीपाती, चाडपर्व, उर्वरता र समृद्धिजस्ता विषय चित्रण गरिन्छ। पछिल्लो समय भने मिथिला चित्रकलामा स्वास्थ्य, वातावरण, महिला सशक्तीकरण तथा विभिन्न सामाजिक सन्देशसमेत समेटिन थालेका छन्।

पर्यटकीय तथा धार्मिक स्थलका भित्तामा मौलिक मिथिला कला प्रस्तुत गरिएपछि ती स्थानको दृश्य आकर्षण बढ्नुका साथै स्थानीय कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।



