सिराहा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले परम्परागत घोषणापत्रभन्दा फरक शैलीमा ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्ने बताएका छन्।
सिराहा निर्वाचन क्षेत्र नं. ३ द्वारा गोलबजारमा आयोजित स्वागत कार्यक्रममा बोल्दै सभापति थापाले निर्वाचनपछि चैत महिनामा सरकार गठन हुने र वैशाख १ गते प्रधानमन्त्रीले सार्वजनिक रूपमा प्रतिज्ञापत्र जारी गर्ने जानकारी दिए। उनले पाँच वर्षभित्र गरिने कामबारे स्पष्ट प्रतिबद्धता जनाइने बताए।
“भाषण मात्र होइन, काम गरेर देखाइन्छ,” थापाले भने, “वैशाख महिनाभरि बनाइएका योजनाको जेठ १ गते मूल्यांकन गरिनेछ। प्रत्येक महिनाको १ गते सरकारको कामको समीक्षा हुनेछ र नागरिकलाई पनि मूल्यांकन प्रक्रियामा सहभागी गराइनेछ।”
थापाले यस्तो प्रणाली लागू गर्न सकिने दाबी गर्दै त्यसका लागि उत्साह, अनुभव, जोश र सम्हाल्ने क्षमता आवश्यक पर्ने उल्लेख गरे। “केवल उखान–टुक्का र आलोचना गरेर मात्र हुँदैन, सबैलाई मिलाएर अघि बढाउने क्षमता चाहिन्छ, जुन क्षमता नेपाली कांग्रेस र मसँग छ,” उनले भने।
उनले कांग्रेसका उम्मेदवारहरूले प्रत्येक जिल्लामा गरेका वाचा पूरा हुने दाबी गर्दै त्यसको जिम्मेवारी आफूले लिने बताए। त्यसका लागि जनताले पार्टीलाई विजयी गराउनुपर्ने उनको आग्रह थियो।
“हामी सपना बोकेर आएका छौँ। देशभरिका आमाको अनुहारमा मुस्कान ल्याउन, युवालाई भरोसा दिन र सबै नेपालीलाई ‘नेपाली हुँ’ भन्ने गर्व दिलाउन चाहन्छौँ,” थापाले भने, “त्यसका लागि जनताको साथ आवश्यक छ।”
सभापति थापाले युवाको भविष्य सुनिश्चित गर्न आफू जोखिम मोलेर पार्टीको नेतृत्व सम्हालेको पनि बताएका छन्।


