जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालले बिपन्न वर्गलाई लक्षित गरि पुन : स्वास्थ्य बीमा कार्यक्रम लागू गर्दै


जनकपुरधाम । धनुषाको जनकपुरधाममा रहेको जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालले आर्थिक रुपमा बिपन्न वर्गलाई लक्षित गरि पुन : स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ ।

अस्पताल व्यबस्थापनको निर्णय अनुसार स्वास्थ्य बीमा बोर्डसँग गत जेष्ठ २२ गते भएको सम्झौता बमोजिम भाद्र १ गतेदेखि उक्त निर्णय लागू गर्ने भएको हो ।

न्यून खर्चमा उपचार गर्दा बिरामीमा आर्थिक भार कम पर्ने हुँदा बीमाको कार्यक्रम पुनः लागू गरिएको कलेजका अध्यक्ष ओपी पाण्डेले जनाए ।

भौतिक रुपमा सुबिधा सम्पन्न यस अस्पतालमा ग्रामीण भेगका सर्वसाधारणले न्यून शुल्कमा उपचार पाउने गरेका छन् ।

करिब २० भन्दा बढी सुपर स्पेसलिष्ट सेवा उपलब्ध भएको यस अस्पतालमा आधुनिक प्रयोगशाला सहित दक्ष देश र बिदेशका चिकित्सकहरु कार्यरत छन् । जानकी मेडिकल कलेज तुलनात्मक रुपमा अन्य अस्पताल भन्दा सस्तो रहेको अस्पतालको दाबी रहेको छ ।

कसरी लिने स्वास्थ्य बीमाको लाभ ?

इमर्जेन्सीमा आउने बाहेकले पहिलो विन्दू तोकिएको अस्पतालबाट रिफर ल्याउनुपर्ने हुन्छ ।त्यस्तै स्वास्थ्य बीमा बोर्डले बीमा मार्फत उपचार सुविधा लिँदा निजी अस्पतालमा २० प्रतिशत रकम बिरामीले भुक्तानी गर्नुपर्ने नियम लगाएको छ ।जस अनुरुप स्वास्थ्य बीमा गरेका बिरामीले यस अस्पतालमा (जीएमसी)मा उपचार गर्दा २० प्रतिशत खर्च आफैं स्वयम् ले व्यहोर्नुपर्ने अध्यक्ष पाण्डेले बताए ।

 

आर्थिक बिपन्नका लागि सहयोगी

अस्पताल स्रोतले जनाए अनुसार कलेजले गत आर्थिक बर्षमा मात्रै २ करोड ११ लाख ६० हजार रुपैयाँ बराबरको उपचार नि:शुल्क गरेको दाबी गरेको छ । विपन्न, असाहय र गरीबलाई सो मूल्य बराबरको उपचारमा छुट गरिएको कलेजले जनाएको छ ।

जीएमसीबाट गत आर्थिक वर्षमा ओपीडीबाट १ लाख १३ हजार ५१ जनाले सेवा लिएका अस्पतालको तथ्याङ्क रहेको छ ।

तीमध्ये ६४ हजार नयाँ र ४८ हजार जना फलोअप बिरामी रहेका जनाएको छ । यस अवधिमा ५ हजार ३सय २७ जनाले आकस्मिक सेवा लिएको अस्पतालले जनाएको छ ।

गत आर्थिक वर्षमा ४ हजार २ सय ९७ जनाले जटिल प्रकृतिका शल्यक्रिया गरिएको कलेजले जनाएको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार