धनौजीका उपाध्यक्ष मण्डलद्वारा प्रमुख प्रशासकीय अधिकृत यादवमाथि हातपात


जनकपुरधाम, १० जेठ । धनुषाको धनौजी गाउँपालिकाका उपाध्यक्ष रामवती मण्डलले प्रमुख प्रशासकीय अधिकृत रञ्जित कुमार यादवमाथि हातपात गरेकी छन् ।

उपाध्यक्ष मण्डलले प्रमुख प्रशासकीय अधिकृत यादवको कार्यकक्षमा प्रवेश गरेर हातपात गरेकी हुन् ।

मण्डलले गाउँपालिकाका लागि आफ्नै पैसाले केही दिन अघि करिब २२ हजार रुपैयाँमा शौचालयको टंकीको पाइप खरिद गरेकी थिइन् । मंगलबार त्यही पैसा भुक्तानी गर्न प्रमुख प्रशासकीय अधिकृत यादवलाई भनेपछि दुबैजनाबीच विवाद भएको स्रोतले जनाएको छ ।

विवादको क्रममा उपाध्यक्ष मण्डल आक्रोशित भई प्रमुख प्रशासकीय अधिकृत यादवमाथि दुई झापड प्रहार गरेको बताइएको छ ।

उपाध्यक्ष मण्डलले आफ्नो पैसा खर्च गरि सामान खरिद गरेपनि प्रमुख प्रशासकीय अधिकृतले भुक्तानीका लागि आनाकानी गर्दा विवाद भएको स्रोतको दाबी छ ।

यस सम्बन्धमा छलफलका लागि बुधबार उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बोलाइएको थियो । तर, छलफल निष्कर्षविहीन भएपछि प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पुनः बिहीबार दुबैजनालाई बोलाएका छन् ।
घटना सम्बन्धमा विस्तृत बुझ्न उपाध्यक्ष रामवती मण्डलसँग सम्पर्क गर्दा उनले कुरा गर्न मानिनन् ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार