जनकपुरधाम, २ चैत । स्ववियु निर्वाचनका उम्मेदवारहरुले गर्दै आएको प्रचार प्रसार आज मध्यरातिदेखि समाप्त हुदैँछ ।
त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जनाए अनुसार उम्मेदवारहरुले बिहिबार चैत २ गते राति १२ बजेसम्म मात्र प्रचार प्रसार गर्न पाउने छन् । प्रचारप्रसारको अवधि समाप्तसँगै मौन अवधि सुरु हुने छ । यस मौन अवधिमा कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचारप्रसार गर्न पाइँदैन ।
स्ववियु निर्वाचनको मतदान भने चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म रहेको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था गरिएको छ । त्यस्तै उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चयन हुनेछन् ।
त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुदैँछ । कतिपय क्याम्पसमा विवादका कारण निर्वाचन अनिश्चित रहेको छ भने केही क्याम्पसहरुमा निर्विरोध नेतृत्व चयन भइसकेका छन् ।
विद्यार्थी संगठनहरुले उपलब्ध गराएको विवरण अनुसार अनेरास्ववियुले ३१, अखिल क्रान्तिकारीले ३० र नेविसंघले १५ वटा क्याम्पसमा निर्विरोध नेतृत्व पाएका छन् ।


