दिलीप महतोको हत्यामा संलग्न रहेका मुख्य अभियुक्तलाई २५ वर्ष कैदको फैसला


जनकपुरधाम, १२ फागुन । जिल्ला अदालत धनुषाले पर्यावरण अभियन्ता दिलीप महतोको हत्यामा संलग्न रहेको भन्दै दोषी ठहरिएका मुख्य अभियुक्त दुई जनालाई २५ वर्ष कैदको फैसला सुनाएको छ ।

जिल्ला अदालत धनुषाले अवैध उत्खनन रोक्न खोज्दा हत्या गरिएका दिलीपको मुद्दामा दोषी ठहरिएका मुख्य अभियुक्त विपिनकुमार महतो र मुनिन्द्र महतोलाई २५ वर्ष कैद र जनही ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

त्यस्तै घटनामा मतियारको भूमिका निर्वाह गरेका जितेन्द्र महतोको हकमा १२ वर्ष कैद र पीडित परिवारलाई २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला भएको धनुषा जिल्ला अदालतका श्रेस्तेदार विकास बस्नेतले जानकारी दिए ।

उनले अभियुक्तहरूले क्षतिपूर्ति तिर्न नसकेको खण्डमा पीडित राहत कोषबाट भराउने निर्णय समेत गरिएको बताए ।

यसअघि धनुषा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले गत बुधबार मुद्दाको फैसला गर्दै उनीहरूलाई दोषी ठहर गरिएको थियो । विपिन र मुनिन्द्रले दिलीपको नियतपूर्वक हत्या गरेकाले उनीहरूलाई मुख्य कसुरदार ठहर गरिएको थियो । त्यस्तै, जितेन्द्रलाई मतियारका रुपमा कसुरदार ठहर गरिएको थियो ।

हत्याको आरोप लागेका अन्य चारजनालाई भने जिल्ला अदालतले सफाइ दिइसकेको छ । सफाइ पाउनेहरूमा रोशनकुमार यादव, शत्रुधन महत्तो, सत्यनारायण र विनोद महतो रहेका छन् ।

धनुषाको मिथिला नगरपालिका–५ का २४ वर्षीय दिलीपको २०७६ पुस २५ गते हत्या गरिएको थियो ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार