सप्तरी, १२ फागुन । सप्तरीमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर–९ बैरबोनामा आगलागी हुँदा लाखौंको क्षति भएको हो ।
स्थानीय रामचन्द्र यादवको घरको बिजुलिको तार सर्ट भएर अचानक आगलागी हुँदा उनको एक तले फुसको घर तथा घरमा रहेका सम्पूर्ण सामान जल्नुका साथै छिमेकी परिक्षण यादव, राम किसुन यादव, चन्द्रदेव यादव, बलराम यादव, रामबृक्ष यादव सहितकाहरुको घर तथा घरमा रहेका नगदसहित सम्पूर्ण सामान जलेर झण्डै २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगो राजविराज तथा लहानको बारुण यन्त्र र स्थानीयवासी, नेपाल तथा सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
यसअघि बोदेबरसाइन नगरपालिका वडा नम्बर–१० खडकपुरमा आगलागी हुँदा आधा दर्जन भन्दा बढिको घर जलेर झन्डै १८ लाख बराबरको क्षति भएको थियो ।


