जनकपुरधाम, २ फागुन । सप्तरीमा ऋण तिर्न नसकेर फेरि एकजनाले आत्महत्या गरेका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका ९ विष्णुमन्दिर टोलका भीमबहादुर भुजेलको ५८ वर्षीया श्रीमती शान्ता कुमारी भुजेल पासोमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।
शान्ताको शवको पोस्टमार्टम गरी मृतक परिवारलाई जिम्मा लगाइएको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको सप्तरीका प्रहरी नायव उपरीक्षक नरेश सिंहले जानकारी दिए ।
स्थानीयका अनुसार शान्ताले लिएको ऋण तिर्न नसकेर लघुवित्त तथा साहुमहाजनको दिनैपिच्छे दिदै आएको तनावका कारण मृत्यु रोजेकी हुन् ।
भुजेल परिवारको सम्पतिको नामा रहेको १० धुर घरघडेरी पनि एक वर्ष अघि एक साहुको नाममा पास गरी ऋण लिएका थिए ।
कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेलले घटनास्थलमा जाँदा स्थानीयहरुले ऋणकै कारण तनावमा आएर आत्महत्या गरेको बताएको बताइन् ।
केही दिन अगाडी उनको श्रीमान् भीमबहादुर उपप्रमुख पोखरेलकै घरमा एक रात वास बसेका थिए । भीमबहादुरले साहुमहाजनले आफूलाई ऋण तिर्न दबाब दिइरहेको कुरा सुनाएको उपप्रमुख पोखरेलले बताइन् ।
दुई वर्ष अगाडीसम्म भुजेल परिवार उपप्रमुख पोखरेलकै घरमा ज्याला मजदुरीमा काम गर्दै आएका थिए । भीमबहादुरलाई १ कठ्ठा जग्गा उपप्रमुखले भुजेलकै परिवारले दिएर घर बनाइदिएको थियो । भीमबहादुर दुई दाजु भाई छन् । छुट्टिएपछि दुई भाग परेर १०–१० धुर लिए ।
उपप्रमुख पोखरेलका अनुसार शान्ताको २५ लाख जति ऋण छ । स्थानीका अनुसार इन्फिनिटी लघुवित्तय संस्था लिमिटेडको महुली शाखा, स्वावलम्बन लघुवित्त विकास बैंकको महुली शाखामा लामो समयदेखि शान्ता आवद्ध थिइन् ।
गत असार महिनामा महुली स्थित लघुवित्तका कर्मचारीहरु भुजेलको घरमै पुगेर सबै सनमान लागेपछि उनी निकै तनावमा रहँदै आएकी थिइन् ।
शान्ताका तीन छोरा छोरी छन् । दुई छोरी बिहे भइसकेको छ भने एक छोरा वैदेशिक रोजगारमा छन् । बुहारी माइतमा छिन् । भीमबहादुर र श्रीमती शान्ता घरमा बस्ने गरेका थिए ।
गत पुस १०मा सप्तरीकै छिन्नमस्ता गउँपालिका–२ रामपुरका ४५ वर्षीय रामदेव मरिकले ऋण तिर्न नसकेर आत्महत्या गरेका थिए ।


