जनकपुरधाम, २ फागुन । यस वर्षको ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ अन्नपूर्ण पोष्टकी मधेस प्रदेश ब्यूरो प्रमुख मनिका झालाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाको अध्यक्षसमेत रहेकी झालाई मंगलबार वीरगञ्जमा प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरेको हो ।
माघ १६ गते वीरगञ्जमा बसेको पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानको बैठकले १३औं ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ पत्रकार झालाई दिने निर्णय गरेको थियो ।
प्रतिष्ठानका सदस्य नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीले वीरगञ्जका दिवंगत पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा १३ वर्ष अघि स्थापना गरिएको यो पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आएको छ ।

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अब्बल पत्रकारिता गर्ने एकजना पत्रकारलाई प्रत्येक वर्ष एक तोला सुनको तक्मा पुरस्कार प्रदान गर्ने गरेको प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माले बताए ।
गतवर्ष सप्तरीका अग्रज पत्रकार बैजनाथ झालाई यो पुरस्कार प्रदान गरिएको थियो । त्यसअघि सप्तरीकै भोलाकुमार पासवान, झापाका केशव आचार्य, पाल्पाका मेघराज शर्मा, कञ्चनपुरका चित्राङ्ग थापालगायतले यो पुरस्कार पाइसकेका छन् ।



